करिब ८४ लाखको लगानीमा रेक्चा गाउँ नै झलमल्ल



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत । सुर्खेतको दुर्गम चौकुने गाउँपालिकाको ५ स्थित रेक्चाका बिजुली बत्ती बलेको छ । गोपालसिंह बिसी, रमेश बिसीलगायत जलविद्युत आयोजना समितिका अगुवाहरुले यहि भदौ १७ गते गाउँ उज्यालो बनाउने सपना साकार बनाएका हुन्।

रेक्चास्थित बेतखोलीबाट उनीहरूले बिजुली उत्पादन गरेपछि गाउँ नै झलमल्ल भएको छ। करिब ८४ लाख रुपैयाँ लगानीमा २२ किलोवाट बिजुली उत्पादन भएको हो।

सात वर्षअघि सुरु भए पनि केही वर्षयता अलपत्र बनेको बेतखोली लघु जलविद्युत आयोजना चौकुने गाउँपालिकाको विशेष पहल र आर्थिक सहायतामा आयोजना सम्पन्न भएको हो।

२०६८ सालमा आयोजना सुरु भए पनि ठेकेदार कम्पनीले लार्बाही गर्दा काम अलपत्र बनेको थियो। आइतबार चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बिजुली उद्घाटन गर्दै स्थानीय सरकार गठनपछि स्थानीय सरकारको पहलमा कर्णालीकै पहिलो लघु जलविधुत आयोजना भएको बताए ।

गाउँपालिकाको उज्यालो चौकुने अभियान अन्तर्गत रेक्चामा अलपत्र रहेको बिजुली उत्पादनको काम सम्भव भएको र उक्त अभियानअन्तर्गत गाउँपालिकाले ३० लाखको हाराहारीमा रकम अनुदान दिएको हो।

सोही आयोजनामा गाउँपालिका र स्थानीय साथै वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको पनि लगानी छ। आयोजनाबाट करिब १५० घर परिवार लाभान्वित भएका छन्।

रेक्चा गाउँमै जन्मेर हुर्केकाहरु मन्त्री तथा उच्च पदस्थ कर्मचारी बनिसक्दा समेत गाउँमा बिजुली, बाटो, खानेपानीको लागि पहल नगरिदिँदा स्थानीयहरु रुष्ट बनेका थिए।

चौकुने गाउँपालिकाले पश्चिम सुर्खेतको दुर्गम गाउँ रेक्चामा बिजुलीमार्फत खानेपानी ल्याउने तयारी गरिरहेको छ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •