कार्यक्षेत्र नबस्ने पुनःनिर्माणका प्राविधिक कारवाहीमा


Share This

नेपालबहस संवाददाता    

पूर्णप्रसाद न्यौपाने /रासस

ओखलढुङ्गा । पुनःनिर्माणमा खटिएर कार्यक्षेत्रमा नबस्ने जिल्लाका प्राविधिक कारवाहीमा परेका छन् । भूकम्पपछिको पुनःनिर्माणमा लाभग्राहीको निजी आवास निर्माणका लागि सहयोग गर्न खटिएका कतिपय प्राविधिक गाउँमा नबसेको गुनासो आएपछि पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले कारवाही शुरु गरिएको हो ।

यो साता कार्यक्षेत्रमा नबस्ने प्राविधिक पहिचान गरेर स्पष्टिकरण सोधिएको पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका इञ्जिनियर पीताम्बर पुनले बताए ।

उनका अनुसार यो साता आधा दर्जन प्राविधिक कारवाहीको दायरामा परेका छन् । प्राप्चामा खटिएका लोकबहादुर ऐर, कुन्तादेवीमा खटिएका करण दास, खिजीकातीमा खटिएका प्रकाशकुमार यादव लगायतका प्राविधिक कारवाहीमा परेका हुन् ।

गाउँमा नबसेको र फोन गर्दा समेत नउठाएर सम्पर्कविहीन भएको भन्दै २४ घण्टाभित्र स्पष्टिकरण दिन भन्दै पत्र पठाइएको छ । उनीहरुलाई पहिलो चरणमा स्पष्टीकरण सोधिएको र चित्त बुझ्दो जवाफ नआए नियमानुसार कारवाही अघि बढाइने जनाइएको छ ।

प्राविधिक सङ्गठित

जिल्लाका प्राविधिक सङ्गठित भएका छन् । भूकम्पपछिको पुनःनिर्माणमा लाभग्राहीको निजी आवास निर्माणका लागि सहयोगमा खटिएका प्राविधिक सङ्गठित भएका हुन् ।

ओखलढुङ्गा सदरमुकाममा भएको भेलाले राजेन्द्र धमलाको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा जनक बुढा, सचिवमा दिव्यराज दाहाल, सहसचिवमा चम्पा दाहाल लगायत छन् ।

पुनःनिर्माणमा खटिएका प्राविधिकको स्वास्थ्य बीमासहितको सेवा सुविधा र हकहितमा आवाज उठाउन समिति गठन गरिएको अध्यक्ष धमलाले बताए ।

सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमासँग सम्बन्धित सवाललाई सम्बोधन गराउन, पुनःनिर्माणमा प्राधिकरणको मापदण्डअनुसार लाभग्राहीलाई दिने सेवामा एकरुपता ल्याउन, सेवालाई गुणस्तरीय तथा पारदर्शी बनाउन र जिल्लाबाट सम्बोधन गर्न सकिने सेवालाई थप प्रभावकारी बनाउनसमेत समितिले काम गर्ने धमलाको भनाइ छ ।

तपाईको प्रतिक्रिया