fbpx

बाढीका कारण एक महिनादेखि रसुवागढी नाका ठप्प !



नेपालबहस संवाददाता
 




काठमाडौं । चीन जोड्ने एक मात्र अन्तराष्ट्रिय रसुवागढी नाकामा एक महिनादेखि यातायात ठप्प भएको छ । रसुवागढी नाका नजिकैको पहिरो, बाढी र गोसाइंकुण्ड गाउंपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएपछि एक महिनादेखि नाका ठप्प भएको हो ।

बाढीले क्षति पुर्‍याएको पुल मर्मतमा ढिलाइ हुंदा साउन १२ देखि नाकामा यातायात ठप्प भएको छ । नाकामा यातायात ठप्प भएपछि स्याउ, लसुनलगायत सामग्री कुहिन थालेका छन् ।

चाडबाडका लागि नेपाल ल्याउन लागिएका अर्बौं मुल्य बराबरका सामान चीनको केरुङमा थन्किएका छन् । करिब १ हजार २ सय कन्टेनर बराबरको सामान केरुङमा थन्किएपछि व्यवसायीले करोडौंको घाटा व्योहोर्नु परेको व्यवसायी टपिन्द्र तिमिल्सिनाले बताए ।

यातायात अवरुद्ध भएपछि रसुवा भन्सारको कारोबार ठप्प भएको छ । दैनिक करोडौं राजस्व असुल हुने नाका सुनासान छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले एक महिनादेखि भन्सारमा राजस्व नउठेको बताए ।