पानीले पहिरो खस्दा महाकाली राजमार्गमा यातायात ठप्प


Share This


नेपालबहस संवाददाता    63 Views

बैतडी । गएराति परेको पानीले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । डिलासैनी–६ को बागाँबगरमा पहिरो जाँदा यातायात ठप्प भएको छ भने एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै हावाहुरीसँगै आएको वर्षाले बैतडीको पाटन नगरपालिका–५ ओदाली र कद्वारमा आठ घर जोखिममा परेका छन् । वर्षाले जमिन भासिएपछि घर जोखिममा परेको स्थानीयवासी लोकेन्द्र चन्दले बताए । वर्षाले ६० रोपनी बढी जग्गासमेत बगरमा परिणत गरेको छ भने गाउँले मिलेर पशु चौपाया बचाउन सफल भएको उनले बताए ।

घर र जमिन भासिए पनि मानवीय क्षति भने भएको छैन । तर किसानले खेतमा लगाएको मकै, भटमास तथा तरकारी फलफूल नष्ट भएको स्थानीयवासी हिरा पाण्डेयले बताए ।

कालोपत्रे हँुदै गरेको पाटन पञ्चेश्वर सडकमा व्यवस्थित तरिकाले काम नहुँदा सडकको तलपट्टिका घर तथा जमिनमा बेलाबेलामा क्षति पुग्दै आएको स्थानीय बासिन्दाले बताएका छन् । पाटन–५ कै तल्लीस्याडीका विभिन्न ठाउँमा पनि पहिरो गएको स्थानीयवासी प्रकाश ठगुन्नाले बताए ।

तपाईको प्रतिक्रिया