सोरु गाउँपालिका सडक सञ्जालमा, स्थानियबासी खुशि


Share This


नेपालबहस संवाददाता    50 Views

मुगु । मुगु जिल्लामा रहेको सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएपछि स्थानियबासीमा उत्साह छाएको छ । जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा सफल रुपमा चारपाङ्गे्र जीप सञ्चालन गरिएपछि यो गाउँपालिका सदरमुकामसँगै सडक सञ्जालमा जोडिएको छ ।

ग्रामीण पहुँच कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा आर्थिक वर्ष २०७० फागुण २२ गतेबाट गमगढी गिलाह धुलाचौर सडकको निमार्ण कार्य शुरु भएको थियो । शुक्रबार गमगढी गिलाह २३ किमीमध्ये १७ किमी सडकमा सवारी साधान परीक्षणको रूपमा सञ्चालन गरिएको थियो ।

उक्त गाउँपालिकामा सडक पुगेसँगै नगरपालिका र गाउँपालिका एकापसमा जोडिएका छन् । सडक जोडिएसँगै सोरुगाउँपालिकामा उत्पादन हुने मास, सिमी, जडीबुटी र फलफूल जिल्ला सदरमुकाममा बिक्री वितरण गर्न र विकास निर्माणका सामग्री लिन सहज भएको गाउँपालिका प्रमुख लोगबहादुर शाहीले बताए ।

नगरप्रमुख हरिजंग शाहीले जनताको सहभागितामा उपकरणबिना गुणस्तरयुक्त सडक बनाएकामा ग्रामीण पहुँच कार्यक्रमलाई धन्यवाद दिँदै आफ्नो नगर क्षेत्रमा आगामी वर्षबाट यही कार्यक्रमबमोजिम सडक निर्माण गर्ने बताए।

सडक निर्माणमा ७० समूहका एक हजार ५०० कामदार खटिएको र चार वर्षमा रु ३८ करोड खर्च भएको कार्यक्रमका प्रमुख मोहान रुवालीले बताए । उनले यो परीक्षणमात्र भएकाले कच्चे गाउँको तल रहेको ५०० मिटर पहरा फोरेपछि दुई महिनामा गिलाहमा २३ किलोमिटरमा सडक पुग्ने र आगामी पुस महिनामा यो सडक सञ्चालनमा ल्याइने बताए ।

मान्छेले काम गरेर गाडी गुड्ला भनेर आफूले नसोचेको सडक निर्माणमा सक्रिय निगाले गाउँकी कामदार जानसर खड्का बताए । सडक बनाउँदा आफ्नो गाउँमा प्रायः सबै घरले कम्तीमा रु सात आठ लाख कमाएको बताउँदै गाडी पुगेपछि सदरमुकाममा तरकारी बेच्न सहज हुने उनले बताए। यो गाउँमा जिल्लाकै नमूना तरकारीखेती हुने गरेको छ ।

तपाईको प्रतिक्रिया