दशैमा राजधानी बाहिर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । यस वर्षको दसैं नजिकिएसँगै घर जाने यात्रुहरूका लागि अग्रिम टिकट बुकिङ यही भदौ २४ गतेबाट खुल्ने भएको छ । सरकारले दसैं मनाउन राजधानीबाहिर जाने सर्वसाधारणको सहजताका लागि व्यवस्था गर्न लागेको हो ।

यातायात क्षेत्रमा व्यवसायीको एकाधिकार हटाउन चैत १८ मा जारी गरेको नयाँ निर्देशिकापछि सरकारले पहिलो पटक अग्रिम बुकिङ टिकट खोल्न लागेको छ । सिन्डिकेट हटेपछि पुराना यातायात समिति हटिसकेका कारण उपत्यका बाहिरिने गाडीको संख्यामा केही कमी हुने अनुमान गरिएको छ ।

तराई क्षेत्रका फराकिला सडकमा प्रालिमा दर्ता भएका सुविधासम्पन्न सवारी सञ्चालन गरिए पनि यातायात प्रालिहरुले पहाडी जिल्लासम्म पुग्ने सवारी सञ्चालन नगरेका कारण गाडीको संख्यामा कमी देखिने भएको हो ।

उपत्यकाका ३ जिल्लामा अध्ययन, व्यापार र विभिन्न पेशा, व्यवसाय गरी बसेका करिब ५० लाख सर्वसाधारणमध्ये धेरैजसो दसैं मनाउन बाहिरिने हुँदा देशका विभिन्न जिल्लाबाट उपत्यका आउने करिब ३ लाख ५० हजार सार्वजनिक सवारीको संख्याले यात्रुको चाप धान्न नसक्ने आकलन यातायात व्यवस्था विभागको छ ।

सरकारले यातायात क्षेत्रको सिन्टिकेट सैद्धान्तिक रुपमा हटाए पनि यात्रु दुर्घटना बीमा गाडी धनी, सरकार वा बैंक कसले बेहोर्ने भन्नेमा स्पष्ट कानुनी व्यवस्था नभएका कारण बैंक, वित्तीय संस्था र नयाँ व्यवसायीलाई पनि सवारीसाधनमा लगानी गर्न अन्योल उत्पन्न भएको बताइएको छ ।

तर, यातायात व्यवसायीले २४ गतेबाट सरकारले खोल्न लागेको अग्रिम बुकिङ टिकटबारेमा थप छलफल हुनुपर्ने माग राखेका छन् । सिन्डिकेट हटाए पनि यातायात व्यवसायीलाई स्वतन्त्र रुपमा सवारी सञ्चालन गर्न अप्ठ्यारोे पारेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् ।

सिन्डिकेट हट्नुअघि काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने छोटो तथा लामो दूरीका सार्वजनिक सवारीको संख्या करिब ३ लाख ५० हजारमध्ये समिति नवीकरण नभएका कारण केही यातायात समितिहरु खारेज भएकाले त्यस्ता समितिले दसैंमा गाडी चलाउने कि नचलाउने भन्नेमा अन्योल देखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

तपाईको प्रतिक्रिया