आजदेखि त्रिभुवन विमानस्थलको धावनमार्ग स्तरोन्नती सुरु



नेपालबहस संवाददाता
 




काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे ‘धावनमार्ग’ स्तरोन्नति औपचारिक रुपमा सुरू भएको छ । बुधबार बिहान पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले स्तरोन्नतीको शिलान्यास गरेका हुन् । पूजाआजा गरेर स्तरोन्नतिको काम सुरू गरिएको हो ।

धावनमार्ग स्तरोन्नतिको काम चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजीले पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन–वे को स्तरोन्नति गर्ने छ ।

विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महिना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग पिच मर्मत हुनेछ ।

सो अवधिभित्र अहिले भइरहेको पिचको निश्चित भाग भत्काइने र नयाँ पिच राखेर बिहान उडान सञ्चालनयोग्य बनाइने विमानस्थलले जनाएको छ ।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग २१ घन्टासम्म निरन्तर सञ्चालन हुँदा चाप बढेका कारण पिच उप्काएर नयाँ पिच लगाउन सेड्युअलअनुसार नै काम अघि बढाइएको हो ।