पोखरामा ‘चरा उत्सव’ २०७५ हुने


Share This


नेपालबहस संवाददाता    

पोखरा । असार १९ गते पर्सि देखि पोखरामा चरा उत्सव २०७५ हुने भएको छ । चरा उत्सव ३ दिन सम्म संचालन हुने भएको छ । पोखरा उपत्यका आसपासमा पाइने चराहरुको संरक्षण गरी प्रदेश नम्बर ४ र समग्र देशका चरा पर्यटन प्रवर्द्धनका लागि आयोजित चरा उत्सव कार्यक्रम पोखरा पर्यटन वोर्डको क्षेत्रीय कार्यालय पोखरा ड्यामसाइडमा हुने पोखरा पन्छी समाजले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

‘टुगेदर फर बर्ड, पिपल एण्ड टुरिजम’ भन्ने नारासहित पहिलोपटक आयोजित चरा उत्सवको पहिलो दिन असार १९ गते पथ प्रदर्शक तथा टुर लिडरहरुलाई ‘बर्ड वाचिङ टे्रनिङ फर टुरिजम प्रोफेसनल’ तालिमको सैद्धान्तिक कक्षा सञ्चालन हुनेछ ।

उत्सवको दोश्रो दिन असार २० गते विहान प्रयोगात्मक कक्षा सञ्चालन हुनेछ भने सोहि दिन दिउँसो चरा वातावरण तथा जैविक विविधता सम्बन्धी फोटो प्रदर्शनी र अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना हुने भएको छ।

उत्सवको तेश्रो तथा अन्तिम दिन असार २१ गते विहान चरा अवलोकन प्रतिष्पर्धा तथा फोटो वाल्क कार्यक्रम हुनेछ भने सोही दिन दिउँसो औपचारिक समापन समारोह आयोजना हुनेछ । समापन कार्यक्रमको अवसरमा चराविज्ञहरुबाट कार्यपत्र प्रस्तुती हुने कार्यक्रम संयोजक तथा पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालले बताए ।

पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले नेपालमा ८ सय ८७ र पोखरामा ४ सय ६३ प्रजातीका चरा पाइने जानकारी दिए । पोखरा उपत्यकामा ७८ वटा जलचर र फेवातालमा मात्र ४६ वटा चरा पाइने उनले बताए । उनका अनुसार नेपालमा ८ प्रतिशत पर्यटक चरा हेर्न भनेर आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया