म्यानमार र श्रीलङ्काका राष्ट्रपति भोली लुम्बिनीमा जाने कार्यतालिका ‘हेर्नुस’



नेपालबहस संवाददाता
 




रुपन्देही । बिम्स्टेक सम्मेलनमा आउन लागेका दुई देशका राष्ट्र प्रमुखले गर्ने लुम्बिनी भ्रमणको तयारी पूरा भएको छ ।  म्यानमारका राष्ट्रपति विन मिण्ट बुधवार र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरसेना भदौ १६ गते लुम्बिनी आउँदैछन् ।

दुवै राष्ट्र प्रमुखको लुम्बिनी भ्रमणलाई यहाँ निकै चासोको साथ हेरिएको छ । लुम्बिनीमा प्रत्येक वर्ष श्रीलङ्का र म्यानमारबाट ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गर्छन् ।

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले दुवै देशका राष्ट्र प्रमुखको स्वागतको तयारी पूरा भएको बताए । दुवै देशका राष्ट्र प्रमुखले लुम्बिनीमा झण्डै चार घण्टा बिताउने भट्टराईले जानकारी दिए ।

‘बुधवार बिहान ९ बजे म्यानमारका राष्ट्रपति चार्टर गरेको हवाइ जहाजबाट भैरहवास्थित गौतमवुद्ध विमानस्थलमा झर्नुहुनेछ’ भट्टराईले भने, ‘त्यसपछि उनी विमानस्थलबाट हेलिकप्टर मार्फत लुम्बिनी आउनुहुनेछ ।’ उनकाअनुसार लुम्बिनीमा राष्ट्रपति मिण्टलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी विकास कोषका उपाध्यक्ष नेतया मन्तेले स्वागत गर्नेछन् ।

राष्ट्रप्रमुख मिण्टले मायादेवी मन्दिरमा झण्डै १० मिनेट पूजाआजा गर्नेछन् । त्यसपछि लुम्बिनी विकास कोषले मिण्टलाई लुम्बिनी गुरू योजनाबारे जानकारी गराउने कार्यक्रम रहेको छ । मिण्टको भ्रमण टोली २८ सदस्यीय रहनेछ ।

१६ गते श्रीलङ्काका राष्ट्रपति सिरसेना आउने कार्यतालिका पनि सोही अनुसार रहेको छ । कोषका योजना प्रमुख भट्टराईले भने, ‘१६ गते आउने श्रीलङ्काका राष्ट्रप्रमुखको कार्यतालिका पनि बुधवारको जस्तै हुनेछ । उनी पनि चार घण्टा लुम्बिनीमा रहनेछन् ।’ श्रीलङ्काका राष्ट्रपतिले पनि आफ्नो राष्ट्रले निर्माण गरेको श्रीलङ्कन मन्दिरको अवलोकन गर्ने कार्यक्रम समेत छ । श्रीलङ्कन भ्रमण टोली ४४ सदस्यीय हुनेछ ।

म्यानमार र श्रीलङ्काका राष्ट्रपतिलाई स्वागत गर्न लुम्बिनीमा भव्य तयारी, यस्तो छ कार्यतालिका

लुम्बिनी चिटिक्क

दुई देशका राष्ट्र प्रमुख लुम्बिनी आउने भएपछि स्वागतका लागि लुम्बिनीलाई चिटिक्क पारिएको छ । सडक मर्मत, सरसफाई, गार्डेन गोडमेल, रङ्गरोगन, तुल व्यानरले लुम्बिनीलाई झकिझकाउ बनाइएको छ । भट्टराईले भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन

दुई देशका राष्ट्र प्रमुख लुम्बिनी भ्रमणमा आउने भएपछि रूपन्देहीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । लुम्बिनीमा शनिवारदेखि नै व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दुवै राष्ट्रपतिको लुम्बिनीमा हुने भ्रमणका लागि अति विशिष्ट श्रेणीको सुरक्षा योजना बनाइएको बताए ।

रानाले भने, ‘गएको शनिवारदेखि नैं रुपन्देहीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षाका लागि १ हजार ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

भैरहवादेखि लुम्बिनीको सबै क्षेत्र अहिले सुरक्षाकर्मीको पूर्ण निगरानीमा छन् । दुवै राष्ट्र प्रमुखको लागि केन्द्रबाट नेपाली सेनाको टोली रूपन्देही आइसकेको छ । सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू खटाइएको छ ।

रूपन्देहीका प्रहरी प्रमुख हृदय थापाले ठूलो सङ्ख्यामा सुरक्षाकर्मीको साथै १० ओटा कुकुरहरू पनि परिचालन गरिएको जानकारी दिए । रासस