अन्तुमा पर्यटकको चहलपहल बढ्यो, ओझेलमा ‘मार्गा पोखरी’


Share This

नेपालबहस संवाददाता    

२० असोज, काठमाडौं । सूर्योदय दृष्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको पूर्वी इलामको अन्तुमा मौसम खुलेसँगै पर्यटक आवागमन शुरु भएको छ ।

मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक जाने क्रम शुरु भएको हो । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै स्थानलाई आँखै अघिनै नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन लेप्चा जातिको लोपोन्मुख संस्कृति, कृषिबाट सुधारिएको जीवनशैली, व्यावसायिक फूलखेती, थुम्काथुम्कामा मौलाएको हरियाली चियाबारीको ‘ग्रीन कार्पेट’ लगायतले पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

अन्तु पोखरीमा डुंगा सयर गर्दै मनोरम दृश्य नियाल्न पाउँदा पर्यटक हर्षित हुने गरेका छन् । “चियाबारी र सल्लाघारीबीचको पोखरीमा डुंगा सयर आनन्द लाग्छ,” डुंगा यात्रापछि इलामबाट अन्तु पुगेकी प्रजिना गुरागाईंले भनिन् ।

त्यहाँको जातीय झाँकी, पुरातात्विक वस्तुको संग्रहालय पुष्प र कृषि प्रदर्शनीले पनि पर्यटकलाई आनन्दित बनाएको छ । अन्तु पर्यटन विकास केन्द्रले पर्यटकको बसाई र घुमाइको लागि प्रबन्ध मिलाएको छ । गोर्खाको सिरुबारी र लमजुङको घलेगाउँपछि अन्तुलाई नेपाल पर्यटन बोर्डले ग्रामीण पर्यटनको सूचीमा राखेपछि पर्यटक आउने क्रम बढेको पर्यटन विकास केन्द्र अन्तुका अध्यक्ष धनकुमार आलेले बताए ।

यतिबेला झापा, इलाम, मोरङलगायत भारतको विभिन्न स्थानबाट पर्यटक अन्तु पुग्न थालेका छन् ।

नेपालको विभिन्न भू–भाग र पश्चिमा पर्यटक पनि अन्तुमा जाने गरेका छन् । स्थानीय अन्तु र समालबुङका चार दर्जन धेरै घरमा पर्यटकलाई पेइङगेष्टको आधारमा खाने बस्ने प्रबन्ध मिलाइएको छ । मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समितिले भ्यूटावर निर्माण गरिदिएपछि पर्यटकलाई चउरमा बसेर सूर्योदय हेर्नुपर्ने बाध्यता टरेको छ ।

पशुपतिनगर बजारबाट भारतीय बाटोको प्रयोग गर्दै छब्बिसेबाट गुफापातलको अवलोकनपछि पनि अन्तु पुग्न सकिन्छ ।

ओझेलमा पर्यटकीयस्थल ‘मार्गा पोखरी’

तेह्रथुमको छथर गाउँपालिकामा रहेको मार्गा पोखरी उचित संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।

धार्मिक महत्व रहेको पर्यटकीय हिसाबले जिल्लाकै एक महत्वपूर्ण मानिने मार्गा पोखरीको संरक्षण गर्न कसैको ध्यान पुगेको छैन ।

तेह्रथुम र धनकुटाका समेत केही गाउँहरु पर्ने ऐतिहासिक छथर क्षेत्र उत्कृष्ट पर्यटकीयस्थल बन्ने सम्भावना भएर पनि संरक्षण नहुँदा मार्गा पोखरी वर्षेनी सुक्दै गएको छ । गत वर्षभन्दा यस वर्ष बर्खामा पानीको मात्रा घटेको स्थानीयले बताएका छन् ।

यो पोखरीको विकासका लागि स्थानीयवासीले विगत लामो समयदेखि प्रयास गर्दै आएका छन् । तर सरकारी निकायबाट कुनै पनि पहल नहुँदा पोखरीको विकासमा उल्लेख्य काम गर्न नसकिएको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

धनकुटा र तेह्रथुमको बीचमा रहेको मार्गा पोखरीको विकासका लागि तत्कालिन जिल्ला विकास समितिको कार्यालयले छथरको पञ्चवर्षीय योजना नै बनाएको थियो । तर त्यो योजना कार्यान्वयन भएन । कारण थियो पोखरीको संरक्षण गरेपछि त्यसको लाभ भने तेह्रथुमभन्दा धनकुटाका बासिन्दाले बढी लिन्छन् भन्ने । दुई जिल्लाको बीचमा भएकै कारण पोखरीको धार्मिक महत्व र पर्यटकीय सम्भावना मरेर गएको स्थानीयले गुनासो गरेका छन् ।

त्यसो त सरकारी निकायले चासो नदिँदा पर्यटकीयस्थलको विकास हुन नसकेको भन्दै त्यहाँका युवाले पनि पटकपटक मेला र महोत्सवबाट यी स्थलको प्रचारप्रसारको प्रयास गरेका छन् । छथर क्षेत्रकै पर्यटकीयस्थलको विकास गर्न छथर महोत्सवका नामले चार पटक महोत्सव गरिएका छन् । तर त्यसबाट मात्र यी क्षेत्रको पर्याप्त विकास नहुने रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आँखेवाले बताए।

पोखरी संरक्षण र नजिकै रहेको पटेक डाडा“मा पिकनिक स्पट, भ्युटावर निर्माणका लागि गाउँपालिकाले गुरुयोजना बनाएर बजेट विनियोजन गर्ने हो भने अझै पनि मार्गा पोखरी राम्रो पर्यटकीयस्थल बन्न सक्ने आँखेवाको भनाइ छ ।

त्यहाँका स्थानीयसँगै पूर्वका विभिन्न बजार र भारतबाट समेत मार्गा पोखरीमा पूजा र स्नान गर्न पुग्छन् । हरेक वर्षको भाद्र पूर्णिमाको अवसरमा यहाँ पूजा र मेलासँगै बिजुवा गुफा समेत बस्ने गरिएको स्थानीयले बताए ।

खासगरी भारतको विहारबाट नजिकको दूरीमा रहेको यो क्षेत्रको पर्यटकीय विकास गर्नसके विहारवासीको नयाँ पर्यकटीय गन्तव्य हुन सक्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार