जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै


Share This

नेपालबहस संवाददाता    

दाङ । चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका– ५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिक्की परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । अहिले ताल अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक २०० देखि ३०० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जखेरा ताल संरक्षण समितिका कर्मचारी ओमभगत चौधरीले जानकरी दिए ।

साढे पाँच बिघा क्षेत्रफलमा ताल फैलिएको छ । त्यस वरपर वनजङ्गल रहेको छ । सो तालको गहिराइ ६ फिट छ । तालको उत्तरतर्फ गणेशको तथा पूर्वमा सिद्धेश्वर महादेवको मन्दिर छ । जखेरा तालआउने पर्यटक ढुङ्गा चढेर मन्दिरको दर्शन गर्ने गरेका छन् । तालको मुख्य आकर्षण वनभोज स्थल, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकनलगायत हो । तालमा ढुङ्गा चढ्नका लागि पर्यटक निकै उत्साहित हुन्छन् ।

तालमा ढुङ्गा चढेर जलविहार गरेमा प्रतिव्यक्ति रु ५० तथा मन्दिर दर्शनका लागि रु २० शुल्क निर्धारण गरिएको छ । जखेरा तालको अवलोकन गर्न कोहपुरबाट आएकी ४१ वर्षीया कालिका रेग्मीले पहिलो पटक आउँदा निकै आनन्द आएको बताइन् । तुलसीपुर उपमहानगरपालिका–१० पशुपति माध्यामिक विद्यालयबाट शैक्षिक भ्रमणमा विद्यार्थीसहित पुग्नुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु रेग्मीले विद्यार्थीको जखेरा ताल अवलोकन गर्ने पहिलो रोजाइ भएको बताए ।

तालको संरक्षण संवद्र्धन गर्नसके दाङको देउखुरी क्षेत्रको मुहार नै फेरिने रेग्मीले बताए। जखेरा ताल संरक्षण समितिका उपाध्यक्ष रामसिंह केसीले तालको संरक्षणका लागि सबैले पहल गर्नुपर्ने बताए । उनले विगतका वर्षमा नागरिकको अथक श्रमदान र राज्यका निकायले गरेको सहयोगले नै अहिले ताल जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा परिचित रहेको बताए । विगतका वर्षमा ताल जलकुम्भी झार र माटोले पुरिएको थियो । जिल्ला भू–संरक्षण कार्यालय, कृषि विकासलगायतका कार्यालय, संरक्षण समिति तथा स्थानीयवासीको सहयोगले तालको संरक्षण गर्न सकिएको केसीले बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार