वातावरणमैत्री पर्यटनका लागि बहस


Share This

नेपालबहस संवाददाता    

मेलम्ची । सिन्धु पर्यटन व्यवसायी सङ्घ सिन्धुपाल्चोकले नदी क्षेत्रको दोहन भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । सुकुटेस्थित सुकुटेबीच क्याम्पमा िबहीबार आयोजित ‘वातावरणमैत्री पर्यटन’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिले यस्तो माग गरेका हुन् ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने सरकारको निर्णयलाई सहयोग पु¥याउन कार्यक्रमको आयोजना गरिएको सिन्धु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । जिल्लाका पर्यटकीयस्थलको सम्भावना र यसमा देखिएका चुनौतीका जानकारी गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको उनले बताए ।

काठमाडौँदेखि करीब ७० किलोमिटरको दूरीमा रहेको भोटेकोशी र सुनकोशी ¥याफ्टिङका लागि आउने पर्यटकका लागि आकर्षक केन्द्रबिन्दु हो । यहाँ वार्षिक ६५ हजार स्वदेशी र २० हजार विदेशी पर्यटक जलयात्राका लागि आइपुग्छन् । ती पर्यटकबाट साहसिक जलयात्रा र रिसोर्टहरूमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा एक हजार १०० जनाभन्दा बढी रोजगार छन् ।

हरेक वर्ष सयभन्दा बढी ¥याफ्टिङ गाइडको उत्पादन भई विदेशका ¥याफ्टिङ कम्पनीमा रोजगार प्राप्त गरी रहेका, सरकारलाई करोडौँ राजश्व तिर्ने गरेका यस क्षेत्रका पर्यटन व्यवसायीकै पहलमा यस क्षेत्रलाई नेपालकै आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गरिएको जानकारी दिए ।

साहसिक जलयात्राका लागि विश्वको साताँै स्थानमा परिचित भोटेकोशी तथा सुनकोशी नदीमा विगतमा विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने गरेकामा केही वर्षयता नदीमा बढ्दो प्रदूषणका कारण दिनानुदिन पर्यटकको सङ्ख्या घट्दै गइरहेको सिन्धु पर्यटन व्यवसायी सङ्घका सल्लाकार मेघ आलेले बताए । साहसिक जलयात्रा हुने गरेकामा नदीमा फोहरमैला मिसाइने, सिधै ढल हाल्ने गरेका कारण नदीमा प्रदूषण बढ्दै गइरहेको उनले जानकारी गराए ।

नदीमा भएको जथाभावी उत्खननले नदीको धार परिवर्तन भइ रोमाञ्चक ¥याफ्टिङको अन्त्य हुनपुग्ने अवस्थामा रहेको अन्तरक्रियामा प्रस्टाए ।आयोजकका अनुसार नयाँपुलदेखि दोलालघाटसम्म गरी करीब ४० किलोमिटरको दूरीमा ¥याफ्टिङ गरिन्थ्यो । नदी क्षेत्रको दोहनले खाडीचौरदेखि दोलालघाटसम्म करीब १५ किलोमिटरमा ¥याफ्टिङको दूरी खुम्चिएको छ ।

मापदण्ड विपरीत सञ्चालन गरिएका उद्योगबाट बालुवा प्रशोधन गरिनाले खोला सधैँ धमिलो हुने गरेको छ । बालुवा उत्खनन नगर्न, जथाभावी खोलामा डोजर तथा स्क्याभेटर लगिनाले राजमार्ग भत्कनाका साथै भूक्षय भइरहेको व्यवसायीको तर्क छ ।

दीर्घकालीन पर्यटनको ठूलो सम्भावना रहेका नदीजन्य क्षेत्रको सरंक्षण गर्न सम्बन्धित निकायहरूको बेलाबेलामा ध्यानाकर्षण गराउँदै आएको उनीहरूको भनाइ छ । नदी क्षेत्रको संरक्षण गर्नु भनेको वातावरण सन्तुलनका दृष्टिले समेत आवश्यक हो । जथाभावी गरिएका यस्ता उत्खननले राजमार्ग र पक्की पुलसमेत धरापमा परेका छन् ।

तल्लो तटीय क्षेत्रमा जथाभावी गरिएका उत्खननले माथिल्लो क्षेत्रका बस्ती नै जोखिममा पर्न थालेको उनीहरूको दाबी छ । उक्त कार्यक्रमको वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले उद्घाटन गरका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार