प्राकृतिक चिकित्सा केन्द्र भवन बजेट अभाव कारण अलपत्र


Share This

नेपालबहस संवाददाता    

बुटवल,२४ बैशाख । रुपन्देहीको सैनामैना नगरपालिका वनकट्टामा समुदायको पहलमा बनाउन थालिएको प्राकृतिक चिकित्सा केन्द्र भवन निर्माणमा वजेट अभाव भएको छ ।

सैनामैनाको चारपालास्थित साढे ४ हेक्टर जग्गामा १० वटा ब्लक सहित एक सय शैयाको तीनतले चिकित्सा केन्द्र बनाउने लक्ष्यसहित तीन वर्षअघि १४ करोड लागत अनुमान गरी काम शुरु भएकोमा अहिले वजेट अभावका कारण निमार्ण कार्य अलपत्र परेको छ ।

नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकितसा केन्द्रले २०७१ सालमा महायज्ञ गरेर वचत भएको ५ करोड रुपैयां केन्द्रको भुई तला बनाउनमै खर्च भएपछि बाँकी संरचना बनाउन वजेट अभाव भएको केन्द्रका अध्यक्ष रामप्रसाद भट्टराईले बताए ।

बजेट अभाव खट्केपछि केन्द्रले स्थानीय सरकार सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र प्रदेश सरकारसंग वजेट व्यवस्था गर्न माग गरेको छ । बजेट अभावले संचालनमा आउन ढिलाई भएको जानकारी दिन केन्द्रले प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी,सैनामैना नगरपालिका प्रमुख चित्र कार्की, प्रदेश सभा सदस्य तुलाराम घर्ती,डा। कृष्ण न्यौपाने लगायतलाई केन्द्रको निर्माणाधीन भवनको अवलोकन गराएको छ । अवलोकनपछि आयोजित अन्तरक्रियामा मन्त्री गिरीले प्राकृतिक चिकित्सा उपचार पद्दतिलाई पनि राज्यले प्राथमिकता दिनुपर्ने धारणा राख्दै केन्द्र निर्माणमा प्रदेश सरकारले यथोचित वजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए ।

बुटवलका मेयर सुवेदी र सैनामैनाका मेयर कार्कीले पनि समदायस्तरबाट पहल गरिएको केन्द्र सम्पन्न गर्न नगरपालिका सकारात्मक रहेको बताए । प्रदेश र स्थानीय सरकारबाट सहयोग भएमा भुंतलाको निर्माण सम्पन्न गरेर आगामी असोजदेखि २५ बेडको अस्ताल शुरु गर्ने र आउंदो दुई वर्षभित्र बांकी दुई तला पुरा गरेर सय शैया नै सञ्चालनमा ल्याउने लक्ष्य रहेको केन्द्रका अध्यक्ष भट्टराईले बताए ।

केन्द्रलाई प्राकृतिक चिकित्सा उपचार स्थलसंगै अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको छ । जग्गा तारबार, नाली निर्माण,गोबरग्यास प्लान्ट निर्माणमा सैनामैना नगरपालिकाले सहयोग गर्ने भएको छ । नेपालमा सामुदायिक सतरबाट नवलपरासीको रजहरमा प्राकृतिक चिकित्सालय संचालनमा छ । बुटवलको ढवाहामा पनि सात करोड लगानीमा नीजि क्षेत्रबाट दुई साता अघिदेखि प्राकृतिक चिकित्सा अस्पताल संचालनमा आएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State