मुक्तिनाथमा पर्यटकको चाप, बढीजसो धार्मिक पर्यटक


Share This


नेपालबहस संवाददाता    

बागलुङ । मुस्ताङको मुक्तिनाथ क्षेत्रमा अहिले दैनिक जसो पर्यटकको चाप देखिन्छ । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् भने नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक जाने गरेका छन् ।

धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेका पुजारीहरुले बताएका छन् । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले मुक्तिनाथको भ्रमण गरेका छन् । फागुन देखि जेठ महिना सम्म पर्यटकीय याम भएकाले अहिले पर्यटकको चाप बढेको छ ।

सन् २०१८ को अप्रिलमा मुक्तिनाथ घुम्ने बाह्य पर्यटकको संख्या नौ हजार १०५ रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ( एक्याप )को जोमसोमस्थित पर्यटक सूचना केन्द्रका अनुसार गत जनवरीदेखि अप्रिलसम्म १६ हजार ९८४ बाह्य पर्यटक मुक्तिनाथ पुगेका छन् । सबैभन्दा बढी आठ हजार ५५६ पर्यटक भारतीय रहेका छन् ।

मुक्तिनाथ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । बाह्यको तुलनामा दोब्बर आन्तरिक पर्यटकले मुक्तिनाथको भ्रमण गरेको बताइएको छ । मुक्तिनाथ, रानीपौवास्थित ‘स्रेने गेष्ट हाउस’ का सञ्चालक रामहरि फुयाँल बास बस्ने पर्यटक बढेको बताउँछन् । पर्यटकको चाप बढ्न थालेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि उत्तिकै बढेको छ ।

एक्याप जोमसोमका प्रमुख दाहालका अनुसार म्याग्दीहुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ । यस्तै, मनाङहुँदै थोरङ्लापास भएर मुस्ताङ छिर्ने पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ ।

गत वर्ष कूल ४६ हजार ६७५ बाह्य पर्यटकले मुक्तिनाथ घुमेका थिए । सन् २०१८ मा उक्त संख्या थप बढ्ने अनुमान गरिएको छ । मुक्तिनाथ नपुगी अन्य मार्गबाट उपल्लो मुस्ताङको लोमान्थाङ लगायतका गन्तव्य घुम्ने पर्यटक पनि छन् । गतवर्ष ५२ हजार बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार