मीरा राईको सम्मानार्थ मुन्दुम अल्ट्रा ट्रेल रेस शुक्रबार


Share This

नेपालबहस संवाददाता    

भोजपुर । विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा भोजपुरमा शुक्रबार खुल्ला मुन्दुम अल्ट्रा ट्रेल रेस—२०७५’ हुने भएको छ । राईको सम्मानार्थ २५ जेठ शुक्रबार स्थानीय टँडिखेलबाट जिल्लाको एक शिखर मयुङ्गसम्म ५२ किलोमिटर दूरीमा रेस सञ्चालन गर्ने तयारी भइरहेको हो ।

प्रतियोगितामा विभिन्न जिल्लाका १७ महिला र ६४ पुरुष गरी ८१ जनाको सहभागिता रहने आयोजकले जनाएका छन् । रेसमा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ हुने महिला तथा पुरुष खेलाडीले क्रमश रु ५० हजार, रु २५ हजार, रु १५ हजार, रु दश हजार र रु पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

त्यस्तै, सामूहिकरुपमा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः रु १० हजार, रु आठ हजार, रु पाँच हजार, ट्रफी र प्रमाणपत्र पाउने छन् ।राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति, भोजपुरले गरेको हो ।

प्रतियोगिताको संयोजन भने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकेडेमी, तिम्मा सरोकार मञ्च काठमाडौँ र दाँवाली मिलन क्लबले गरेको छ । त्यस्तै, प्राविधिक सहयोग नेपाल माउण्टेन स्काइ रनिङ एशोसिएशनले गरेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State