विश्वकप फुटबलको समयमा बिजुली आपूर्ति नियमित : घिसिङ


Share This


नेपालबहस संवाददाता    93 Views

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले यसपटक विश्वकप फुटबलको समयमा बिजुली आपूर्ति नियमित हुने बताएका छन् ।

विश्वकपको समयमा लोडशेडिङ हुँदैन, तर कम भोल्टेज र प्राविधिक समस्याहरू देखिन सक्ने उनले बताएका छन् । उनले यस पटक रातिको समयमा रुस विश्वकप फुटबलका खेलहरू भएकाले बिजुलीको खपत भने थोरै बढ्ने उल्लेख गरे। साथै कुनै निश्चित एक टोलीको समर्थक नरहे पनि कार्यकारी निर्देशक घिसिङ स्वयंले पनि समय मिलेसम्म विश्वकप फुटबलका खेलहरू हेर्ने योजना बनाएका छन्।

नेपालमा त्यसबेलाको ऊर्जा सङ्कटका कारण कतिपय खेल हेर्न कठिन भएको खेलप्रेमिहरुले बताएका छन् । कुनै समय दिनको १८ घण्टासम्म रहेको लोडशेडिङ यस वर्षबाट औपचारिक रूपमा अन्त्य भएको हालै नेपाल विद्युत् प्राधिकरणले घोषणा गरेको छ।

विद्युत् प्राधिकरणको यस्तो घोषणाबाट यस बर्षका खेल प्रेमिहरु उत्साहित भएका छन् । यसअघि विश्वकप फुटबलको आयोजना भएको साल सन् २०१० मा नेपालमा सातामा ९८ घण्टासम्म र सन् २०१४ मा साताको ८४ घण्टासम्म लोडशेडिङ भएको तथ्याङ्क विद्युत् प्राधिकरण अन्तर्गतको भारप्रेषण केन्द्रसँग छ।

साधारणतया बर्खायाममा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुने भएकाले त्यसबेला सुक्खायाममा भन्दा कम लोडशेडिङ हुने गरेको थियो।  नेपालमा झन्डै ३६ लाख विद्युत्‌ प्राधिकरणका ग्राहक छन् र कुल जनसङ्ख्याको ७२.५ प्रतिशत हिस्सामा टेलिभिजनको पहुँच पुगेको छ ।

सन् २०१४ को विश्वकपमा काठमाण्ड लगाएतकाशहरमा आफ्ना साथी भाइहरूसँग भाडामा लिएको प्रोजेक्टरमा विश्वकप हेरिरहँदा झ्यापझ्याप बिजुली गएको सबैका मनमा ताजा नै छ । हाल नेपालले १०४४.६ मेगावाट बिजुली स्वदेशमै उत्पादन गरिरहेको छ । देशको जनसङ्ख्याको करिब १८ प्रतिशतले नवीकरणीय ऊर्जाबाट विद्युत्‌मा पहुँच कायम भएको छ ।

तर अझै पनि ग्रामीण क्षेत्रका प्रत्येक १० मध्ये तीन परिवार अँध्यारोमा बस्न बाध्य छन्। त्यस्ता कैयौँ परिवार यसपालि पनि विश्वकप फुटबलको रन्कोबाट टाढै हुने देखिन्छ।

तपाईको प्रतिक्रिया