fbpx

विश्वकप : उपाधिका लागि क्रोएसिया र फ्रान्सबीच प्रतिस्पर्धा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीचको प्रतिस्पर्धा आज हुँदैछ । आज राति हुने फाइनल खेलमा उपाधि उचाल्ने लक्ष्यका साथ दुबै टिम प्रतिस्पर्धा गर्दैछन् ।

रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ । यो पटकको विश्वकपको उपाधि दौडमा क्रोएसिया नयाँ टिम हो भने फ्रान्स एक पटकको विश्वकप विजेता टिम हो ।

सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलको फाइनलमा पहिलो पटक पाइला टेकेको हो । विश्वकप फुटबलको उपाधि क्रोएसियाले जितेमा आफ्नो फुटबल इतिहासमा ऐतिहासिक सफलता हात पार्नेछ । अहिलेसम्म क्रोएसियाले विश्वकप फुटबलमा फाइनलसम्मको यात्रा तय गर्न सकेको थिएन ।

क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गर्दै इतिहास बनाउन सफल भयो । सन् १९९८ मा भएको विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो भने सेमिफाइनलमा फ्रान्ससँग २–१ गोलले पराजित हुँदै उपाधि दौडबाट बाहिरिएको थियो । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाको लागि यो सबैभन्दा ठूलो उपलब्धि हो ।

यता, फ्रान्सले भने सेमिफाइनलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै १२ वर्षपछि फाइनलमा स्थान बनाएको थियो । फ्रान्सको जितमा सामुएल उमटिटी नायक बनेका थिए । उनकै निर्णायक गोलमा फ्रान्स उपाधि नजिक पुगेको हो । फ्रान्सको विश्वकप फुटबलमा तेस्रो फाइनल प्रवेश हो । यसअघि सन् १९९८ मा भएको विश्वकप फुटबलको उपाधि फ्रान्सले पहिलो पटक उचालेको थियो । त्यस्तै, सन् २००६ मा फ्रान्स फाइनलमा पुग्दै उपविजेता बनेको थियो ।

जारी विश्वकपमा क्रोएसियाले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो । क्रोएसियाले समूह चरणको खेलमा नाइजेरियालाई २–० गोलले, अर्जेन्टिनालाई ३–० गोलले पराजित गरेको थियो । त्यस्तै समूह चरणको आफ्नो अन्तिम खेलमा आइसल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको नकआउट चरणमा पुगेको थियो ।

प्रिक्वाटरफाइनलमा भने क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो । क्वाटरफाइनलमा पनि आयोजक रसियालाई ४–३ गोलअन्तरले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा इंग्ल्यान्डमाथि २–१ गोलको जित निकाल्दै क्रोएसिया फाइनल पुगेको हो ।

यता, फ्रान्सले पनि विश्वकपको समूह चरणमा अष्ट्रेलियालाई २–१, पेरुलाई १–० र समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग गोलरहति बराबरी खेलेको थियो । प्रिक्वाटरफाइनलमा भने अर्जेन्टिनालाई ४–३ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा पुगेको थियो । क्वाटरफाइनलमा उरुग्वेलाई २–० गोलअन्तरले पराजित गरेको फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

हेड टु हेड

क्रोएसिया र फ्रान्सबीच अहिलेसम्म ५ खेलमा भेट भएको छ । जुन खेलमा फ्रान्सले ३ पटक जित हात पारेको छ । क्रोएसियाले भने फ्रान्सलाई अहिलेसम्म पराजित गर्न सकेको छैन । फ्रान्स र क्रोएसियाले २ खेलमा भने बराबरी खेलेका छन् । सन् १९९८ मा फ्रान्सले विश्वकप फुटबलको उपाधि जित्दा सेमिफाइनलमा फ्रान्स र क्रोएसियाबीचको भेट भएको थियो । जुन खेलमा क्रोएसियालाई २–१ गोलले पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको थियो ।

२० वर्षपछि फ्रान्स र क्रोएसिया विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । क्रोएसियालाई बदला लिने राम्रो अवसर रहेको छ भने फ्रान्स फेरी पनि क्रोएसियालाई पराजित गर्दै उपाधि चुम्ने लक्ष्यमा छ ।

बाह्रखरी अनलाइनबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार