fbpx

महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियालाई


Share This

नेपालबहस संवाददाता    

ललितपुर । नेपाल पत्रकार महासंघ महिला विभागले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ ।

‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ आज शनिबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतियोगितामा अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले उपाधि जितेको हो । खेल जारी रहेकै बेला रात परेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो ।

विजेता टोली प्रिन्टका लागि पुण्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए । अनलाइनका तर्फबाट मुना कार्कीले मात्र गोल गर्न सकिन्, अन्य खेलाडीले हानेको पेनाल्टीले गोलपोष्टको दिशा लिन सकेन ।

प्रतियोगितामा रेडियो र टेलिभिजनले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीलाई तेस्रो भएको घोषणा गरिएको थियो ।

विजेता टोली रेडियोलाई १–० गोलले र उपविजेता अनलाइन टोली टेलिभिजनलाई २–१ ले पराजित गरी फाइनलमा पुगेका थिए । विजेता तथा उपविजेता टोलीलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाललगायतले ट्रफी प्रदान गरेका थिए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा०ले खेलकुद क्षेत्रका समस्याबारे पत्रकारहरूले आ–आफ्नो मिडियाबाट खबरदारी गर्न आग्रह गरेका छन् ।

खेलकुदको क्षेत्रबाट मुलुकको समृद्धि गर्न सकिने बताउँदै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल मैदान निर्मााण थालिने बताए । सो अवसरमा उनले विजेता टोलीले प्राप्त गर्ने गरी प्रोत्साहनस्वरुप रु १० हजार महासंघका कोषाध्यक्ष राजेश मिश्रलाई हस्तान्तरण गरे ।

तपाईको प्रतिक्रिया