fbpx

२० बर्षपछि रजत पदक जितेका खेलाडीलाई सरकारको उधारो बधाई


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । इण्डानेसियामा जारी १८ औँ एसियाली खेलकुद एसियाडमा नेपालको पुरानै रोग देखियो । जहाँ खेलको १० औँ दिनसम्म पनि कुनै खेलाडीले पदक जित्न सकेनन ।

रित्तो हात स्वदेश फर्किन लागेको सिंगो नेपाली टिमलाई प्याराग्लाईडिंगले भने झिनो आश देखायो । नभन्दै ११ ओैँ दिनमा ऐतिहासिक रजत पदक जितेर एसियाडमा नेपालको इज्जत पनि राखे चार जना खेलाडीहरु युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापाले ।

लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत २० बर्षपछि नेपाललाई रजत जिताउने खेलाडीलाई बधाई दिए । उनले बधाईका लागि जम्माजम्मी १६ शब्द मात्रै खर्चिए ।

जबकी नेपालले प्याराग्लाईडिंगमा पहिलो चोटी भाग लिएको हो । पहिलो चोटीमै रजत जितेर नेपालको पदकको खडेरी पनि तोड्यो । तर प्रधानमन्त्रीले सामान्य भाषामा पदक जित्ने खेलाडीलाई बधाई ट्क्राए ।

यसअघि सन् १९९८ मा नेपालकी सबिताराज भण्डारीले नेपाललाई रजत जिताएकी थिइन । त्यसयता नेपालले रजत जित्न सकेको थिएन । स्वर्ण त झन् नेपालले अहिलेसम्म जित्न सकेको छैन ।

तर सरकारले खेलाडीहरुको मेहनतलाई सामान्य सम्झेर औपचारिक बधाई मात्रै दिँदा खेलाडीहरुको हौसलामा कमी आएको छ ।

सरकारले खेलकुद क्षेत्रलाई भनेर बर्षेनी करोडौ छुट्याउँछ । जसको उपलब्धि साफ, एसियाड, ओलम्पिक जस्ता प्रतियोगितामा देखिनुपर्ने हो । तर जहिले पनि नेपालले अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा निराशाजनक प्रदर्शन गर्छ । कारण खेलाडीमाथिको लगानी र प्रोत्साहन नै हो ।

दुई बर्षअघि चीनमा भएको १७ औँ एसियाडमा करातेकी बिमला तामाङले एउटा कास्य जितिन । सुचीमा नभएकी उनी चीन पुगेर कास्य जितेपछि सर्वत्र प्रशंसा भयो । धेरैले लाखौ रुपैयाँसहित सम्मान गरे ।

सरकार त्यतिबेला पनि सम्मान गर्न हच्कियो । तर चौतर्फी दबाबपछि सरकारले राईलाई सम्मान गरेको थियो । अहिलेको अवस्था पनि उस्तै देखिएको छ ।

देशलाई खेलाडीले पदक जिताउनु भनेको ठूलो साहस र उपलब्धी हो । यसका लागि सरकारले उनीहरुलाई प्रोत्साहन गर्न सम्मान र पुरस्कारको घोषणा गर्नुपथ्र्यो ।

तर आफुलाई दुई तिहाई बहुमत र समृद्ध नेपाली, सुखी नेपालीको अभिभावक ठान्ने प्रधानमन्त्री केपी शर्मा ओलीले भने खेलाडीहरुलाई उधारै बधाई दिए ।

यसले समग्र खेल क्षेत्र र खेलाडीलाई मनोवैज्ञानिक रुपमा असर गर्न सक्छ । र ओलीको कार्यकालमा खेल क्षेत्रमा भएको उपलब्धीलाई सम्मान नगर्नुले अपमान भएको ठहरिन सक्छ ।

तपाईको प्रतिक्रिया