नेपाली राष्ट्रिय क्रिकेट टोली भोली स्वदेश फर्कर्दै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मलेसियामा जारी एसिया कप छनोटमा सहभागी भएको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार काठमाडौं आउँदैछ। उपाधि जित्ने लक्ष्यसहित मलेसिया गएको नेपालले खराब प्रदर्शन गर्दै समूह चरणबाट बाहिरिएपछि घर फर्किएको हो।

नेपाली टोली शुक्रबार मध्यान्ह सवा १२ बजे मालिन्दो एयरबाट काठमाडौं आउन लागेको हो। नेपाली टोलीसँगै सन्दिप लामिछाने पनि आउन लागेको नेपाली क्रिकेट टोलीका म्यानेजर रमण सिवाकोटीले जानकारी दिए।

वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिगमा आवद्ध सन्दिप लामछाने पनि मलेसियाबाट काठमाडौं टोलीसँगै आउन लागेका हुन्। लिग चरणका ५ खेलमा दुईमा मात्रमा जित निकालेको नेपाल प्रतियोगिताबाट बाहिरिनुको मुख्य कारण ब्याटिङ नै हो।

यसअघिका प्रतियोगितामा पनि ब्याटिङ पक्ष सधै कमजोर हुँदै गएकोमा त्यो कमजोरी यसपटकको प्रतियोगितामा पनि दोहोरियो। बलिया प्रतिद्वन्द्वीविरुद्ध नेपाली खेलाडीको ब्याटिङ खासै जम्न सकेन। त्यसमा पनि ओपनिङ जोडीको खराव प्रदर्शन यसपटक पनि सुधार हुन सकेन ।

नेपाली टिममा सबै भन्दा बलियो पक्ष फिल्डिङ र बलिङ हो। तर, यो प्रतियोगितामा नेपाली बलरले राम्रो प्रदर्शन गरेर जिताएको एउटा मात्र खेल रह्यो त्यो थियो मलेसिया विरुद्ध।

अरू खेलमा नेपाली बलर विपक्षी विरुद्ध लडखडाए। नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी सन्दिप बने। उनले १४ विकेट लिँदा बसन्त रेग्मी ७ तथा सोमपाल कामीले ६ विकेट हात पारे। तर, नेपाली बलरले सबै प्रतियोगितामा विपक्षीलाई दबावमा राख्न कमै मात्र सके। जुन हारको अर्को कारण बन्यो ।

नेपाली क्रिकेट टिम मलेसिया पुग्नु भन्दा अगाडि श्रीलंकामा प्रशिक्षण गरेको थियो । जहाँ उसले सबै खेलमा जित निकालेको थियो। त्यो भन्दा पनि अगाडी नेदरल्याण्डस् विरुद्ध दोस्रो एकदिवसिय खेलमा हात पारेको जितले नेपाली खेलाडीमा आत्मविश्वास निकै थियो। तर अन्त्यमा मलेसियामा कमजोर प्रदर्शन गर्दै एसिया कप सपनामै सिमित रह्यो।

तपाईको प्रतिक्रिया