मेस्सीले यस सिजनको युरोपियन गोल्डेन बुट लगभग सुनिश्चित


Share This

नेपालबहस संवाददाता    

बार्सिलोना । बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले यस सिजनको युरोपियन गोल्डेन बुट लगभग सुनिश्चित गरेका छन् । १ खेल खेल्न बांकी रहेका मेस्सीको स्पेनिस ला लिगामा ३४ गोल रहेको छ ।

यस साता इंग्लिस प्रिमियर लिगको अन्त्यसँगै दोस्रो स्थानमा रहेका मोहम्मद सालाहले आफ्नो सिजन ३२ गोलमा अन्त्य गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका ह्यारी केन (३० गोल ) र चौथो स्थानमा रहेका रोबर्ट लेवान्डोस्की ( २९ गोल ) को पनि आ-आफ्नो सिजन अन्त्य भएको छ ।

२९ गोल नै गरेका सिरो इमोबिलको एक खेल बाकीं रहे पनि उनी अन्तिम खेलमा घाइते रहेका छन् । अब २८ गोलमा रहेका मौरो इकार्डीले इन्टर मिलानको अन्तिम खेलमा जादुयी प्रदर्शन गर्दै ७ गोल गरे र मेस्सीले गोल गर्न नसके मात्र मेस्सी यस सिजन गोल्डेन बुटबाट वञ्चित हुने छन् ।

ला लिगाको सर्वाधिक गोलकर्ताले जित्ने पिचिची उपाधि पनि मेस्सीले नै जित्ने पक्का रहेको छ । मेस्सीको प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको २५ गोल र लुइस स्वारेजको २४ गोल रहेकाले मेस्सीले आउने साता दुई व्यक्तिगत उपाधि सुनिश्चित गर्ने छन् ।

यस सिजन मेस्सीले सबै प्रतियोगितामा ५३ खेल खेल्दै ४५ गोल र १८ असिस्ट गरेका छन् । बार्सिलोनाले ला लिगाको अन्तिम खेलमा आउने साता रियल सोसियडाडसँग भिड्ने छ । एजेन्सी

तपाईको प्रतिक्रिया
Road Show Real State