एनसीसी बैंकको शेयर लिलामीमा उठाउने सुनौलो मौका


Share This


नेपालबहस संवाददाता    

८ अर्ब चुक्ता पुँजी पुग्न करीब १ अर्ब बराबरको बोनस शेयर आवश्यक !

काठमाडौं । एनसीसी बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदकहरुको न्युन आवेदन परेपछि लिलाम सकार्नेहरुलाई मौका मिलेको छ । प्रारम्भिक तथ्यांक अनुसार बैंकको ६० प्रतिशत हकप्रद मात्र बिक्री भएको छ । लगभग ४० प्रतिशत सेयर भने अब लिलामीमा आउने छ । यसले बैंकको शेयरमा लगानी गरेर शेयरधनी बन्न चाहनेहरुका लागि सुनौलो मौका सृजना भएको छ ।

बैंकले २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । पहिलो चरणमा बैंकको हकप्रदमा ज्यादै न्युन आवेदन परे पछि १५ दिन म्याद थप गरेको थियो ।

१५ दिन समय थप गर्दा समेत बैंकको लगभग ९३ लाख कित्ता सेयर बिक्री नभए पछि लिलाममा जाने तयारी भएको बैंक निकट स्रोतले जानकारी दिएको छ । बैंकले लिलामीबाट उल्लेखित शेयर बिक्री गरेर चालु आर्थिक वर्षमा केही रकम प्रिमियम संकलन गर्ने र सो नाफा आफ्ना लगानीकर्ताको हातमा पुर्याउने योजना बनाएको छ । राष्ट्र बैैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकलाई अझै ९९ करोड अपुग हुने देखिन्छ । यो रकम अब बैंकले बोनस शेयरबाट पुर्याउनु पर्ने हुन्छ ।

‘क’ वर्गको बैंकको शेयर सस्तो मुल्यमा किनेर शेयर धनी बन्न चाहने जो कोहीले पनि अब केही समय भित्र नै लिलाम बढाबडमा किन्न सक्ने बैंक समाचार स्रोतले बतायो । अहिले पनि दोस्रो बजारमा बैंकको शेयर उत्साहजनक अवस्थामा कारोबार हुँदै आएको छ । हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ पुग्ने बैंक स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार