देउवा सोच : गच्छेदारलाई काखा, कांग्रेसलाई पाखा !


Share This

नेपालबहस संवाददाता    

सभापतिकै शक्तिको चरम दुरुपयोग

नेपाल बहस डेस्क

काठमाडौँ । कम्युनिष्टहरुले इतिहासकै शक्तिशाली सत्ता चलाइरहेका बेला मुलुककै लामो राजनीतिक विरासत बोकेको पार्टी नेपाली कांग्रेस अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

आफ्नै नेतृत्वमा भएको आमचुनावमा कांग्रेस यसरी बढारिएला भन्ने कमैले सोचेका थिए । नेतृत्व दुरदर्शी, समयमुखी र परिवर्तनकारी नहुँदा कतिसम्म कमजोर भइन्छ भन्ने पाठ अब जोसुकैले पनि कांग्रेसबाट सिक्न सल्लाह दिन सक्छन ।

‘एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा अहिले सत्तामा छ । कांग्रेस प्रतिपक्षमा छ । कांग्रेस प्रतिपक्षमा मात्रै होइन, पार्टी कार्यालयमै सिमित छ ।’ यो वास्तविकता नेकपाका नेता झलनाथ खनालले व्यंग्यात्मक रुपमा कांग्रेसकै कालो चिया खाएर सानेपामा ओकेलेका हुन ।

कार्यकर्ताले कांग्रेस खोजिरहेका छन । तर शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस अहिले पार्टी कार्यालयमै सिमित छ । किनकी इतिहासकै शक्तिशाली सरकार भएपनि जनताबाट चर्को आलोचना व्यहोरिरहेको केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले ‘ट्रयाक’मा ल्याउन सकेन ।

गगन थापा जस्ता युवा नेताहरुको गर्जनबाट संसद र सडकमा कांग्रेस आन्दोलित छ भनेर कार्यकर्ताले महसुस गरेपनि नेतृत्वले भने त्यसैलाई पुरापुर बेवास्ता गरिरहेको भन्ने गुनासो पार्टी भित्रैबाट सुनिन्छ । ।

देउवा रणनीति !

१३ औँ महाधिवेशनमा भारी मत ल्याएर शेरबहादुर देउवा पार्टी सभापति चुनिनु कुनै नौलो कुरा थिएन । शुशिल कोइरालाको निधनपछि कांग्रेसभित्र लामो समय प्रभाव जमाएका देउवालाई सभापति बन्न कसैले रोक्न सक्ने अवस्था भएन ।

तर अचानक मृत्युको मुखमा पुग्दा पनि कोइरालाले बेला बेला भन्थे रे, ‘अब कांग्रेस डुब्ने भयो । पार्टी सिद्धिने भयो ।’ कांग्रेसको नेतृत्व कोइराला खलकबाट पहिलो पटक देउवामा सरेपछि अहिले भइरहेको पनि त्यस्तै छ । यद्यपी कांग्रेस सिद्धिसकेको छैन ।

प्रवक्ता विश्वप्रकाश शर्माका भनाई सापटी लिने हो भने ‘कांग्रेस आइसियुबाट बिस्तारै तंग्रिएर सञ्चो हुने अवस्थामा छ । तर पूर्ण रुपमा सञ्चो हुन भने समय लाग्छ ।’

तर पार्टी सभापति शेरबहादुर देउवाले अहिले गरिरहेका निर्णय सही छन त ? यसबारे सोचमग्न हुन जरुरी छ । उनका पछिल्ला रणनीतिले सबै कांग्रेसीलाई झस्काएको पनि छ ।

महासमिति कसको चाहनामा सारियो ?

लामो समयपछि मंगलबार बसेको कांग्रेस केन्द्रिय समिति बैठकले पार्टीको सबैभन्दा महत्वपूर्ण महासमिति बैठक एक महिना पर सार्ने निर्णय गर्यो । यो आम कांग्रेसको चाहना थिएन । तर अहिलेको केन्द्रिय समितिमा पूर्ण बहुमत बनाएका सभापति देउवाले महासमिति बैठक मंसिर ५ देखि ९ होइन, मंसिर २८ देखि पुस ३ गते गर्ने निर्णय सुनाउदा कसैले प्रतिवाद गर्न सकेन ।

यसका पछाडी विधान संशोधन मस्यौदा समितिको हात छ । किनकी समितिले अहिलेसम्म पनि विधानको टुंगो लगाउन सकेको छैन । विधान नै नभएपछि कसरी महासमिति बैठक गर्नु ? बैठक सार्नुको विकल्प थिएन । त्यसैकारण सर्यो ।

तर अधिकांश कांग्रेस नेताहरु दोश्रो पटक महासमिति बैठक सार्ने पक्षमा थिएनन । तोकिएकै मितिमा महासमिति बैठक राखेर कांग्रेसलाई पुनः गतिशिल बनाउनुपुर्ने नेताहरुको जोड थियो । तर देउवाले आफुअनुकुल विधान बनाउनका लागि महासमिति बैठक सारेरै छाडेको कतिपय नेताहरुको भनाई छ ।

गच्छदारलाई काखा, कांग्रेसलाई पाखा !

महासमितिबारे कांग्रेस केन्द्रिय समितिको यो निर्णय बैठक अघि नै बाहिरिसकेको थियो । तर नसोचेको निर्णय के भयो भने, ‘विजय गच्छदार उपसभापतिमा मनोनित ।’

यो कसैले सोचेको थिएन । तर कांग्रेसका शक्तिशाली सभापति देउवाले गच्छदारलाई संसदीय समितिको उपनेता मात्रै होइन, अरु तमाम बरिष्ठ नेताहरुलाई पाखा लगाएर पार्टीकै उपसभापति बनाई दिए ।

यो सामान्य र सजिलो थिएन । कार्यकर्ताहरुको चाहना झन पटक्कै होइन । अधिकांश केन्द्रिय सदस्यहरुको यसबारे कुनै योजना र अपेच्छा थिएन ।

देउवाको यो निर्णयपछि आम नेताहलाई लागेको छ, विजय गच्छेदारलाई काखा राखेर आखिर कांग्रेसलाई किन पाखा गरिदैछ ? यो भन्न सजिलो छैन ।

पार्टी सभापतिबाट चरम असन्तुष्ट रामचन्द्र पौडेल पक्षले यसलाई ‘असंवैधानिक’ भनेको छ । यो निर्णय सच्याउनुपर्ने र आम कांग्रेसलाई निराश नबनाउन पौडेल पक्षका नेताहरुले देउवालाई जति नै आग्रह गरेपनि देउवा सच्चिने देखिदैनन ।

केहीदिनअघि सानेपामा कांग्रेसको चियापान कार्यक्रममा एक बरिष्ठ नेताले भनेका थिए, ‘देउवाका कारण पार्टी यो नाजुक अवस्थामा पुग्यो । तर देउवालाई हल्लाउने, सच्याउने र सही बाटोमा हिडाउने आँट कोही कांग्रेसीमा छैन । जबसम्म १४ औँ महाधिवेशन हुदैन ।’

देउवाका हठात निर्णयले गर्दा नेपालको राजनीतिमा कांग्रेस प्रभावहीन बन्दै गएको छ । कार्यकर्ताहरुमा चरम निराशा थपिएको छ । नयाँ उत्साह र कार्यक्रमहरु देखिएका छैनन । केन्द्रिय बैठक बेला बेला बस्न सक्दैन । महासमिति बैठक सारिएको सारिएै छ । यसले कांग्रेसलाई देशको नेतृत्व गर्ने पार्टी नभई बिस्तारै पाखा लगाउने देउवाको रणनीति हो की ? भन्ने चिन्ता कार्यकर्तामा थपिएको छ ।

जहिले पहिलो, देशको नेतृत्व अब कहिले ?

वास्तविकता यो मात्रै होइन । आफ्नै नेतृत्वमा नेपालको ऐतिहासिक नयाँ संविधान जारी गरेको कांग्रेसले आफ्नै नेतृत्वमा तीन तहको चुनाव शान्तिपूर्ण ढंगले सम्पन्न गरायो । चुनावछि नेपालको संविधान पूर्ण रुपमा कार्यान्वयन गर्न कांग्रेस अघि मात्रै सरेन । एक एक हिसाब किताब राखेर अर्थात तोकिएकै समयमा कार्यान्वयन गर्यो ।

यति मात्रै भन्दा पनि कांग्रेसलाई अन्याय हुन्छ । किनकी तत्कालिन विद्रोही नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर संविधानसभाको चुनाव पनि कांग्रेसले नै गराएको हो ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै २०६४ सालमा पहिलो संविधानसभाको चुनाव सम्पन्न गराएका थिए । त्यतिबेलै कांग्रेस दोश्रो हुँदा गिरिजाले बालुवाटारमै बोलाएर तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईलाई भनेका थिए, ‘मेरो काम चुनाव गराउने हो । चुनाव गराएर । तर पार्टी हार्यो । अब तपाईहरुको काधमा जिम्मेवारी आएको छ । राम्ररी निभाउनुहोला ।’

तर गिरिजाबाबुको यो अभिभावकीय भावलाई प्रचण्डले हेपाईका रुपमा लिए । नभन्दै उनी गिरिजाबाबुलाई बेवास्ता गर्दै एमालेलाई साथ लिएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने ।

तर दुई बर्षमा संविधान बनाउनुको साटो प्रचण्ड आफै नौ महिनामै बालुवाटारबाट तत्कालिन निजी निवास लाजिम्पाट फिर्ता भए । तत्कालिन सेनापति रुक्मांगद कटुवाल प्रकरणबाट प्रधानमन्त्री पद खुस्काएपछि प्रचण्डले भनेका थिए, ‘गिरिजाबाबुलाई देशकै अभिभावक मानेर राष्ट्रपति नबाउनु ठूलो भूल भयो ।’

अर्थात उनले कांग्रेसलाई नबुझेपनि कांग्रेस नेतृत्वको आश, भरोस, विश्वास र लामो राजनीतिक अनुभव बुझ्न मौका पाएका थिए । कांग्रेसलाई हेरेरै प्रचण्ड अहिले नेपालको राजनीतिमा सबैभन्दा बढी चतुर खेलाडी अर्थात ‘कि प्लेयर’ बनेका हुन । जसरी कुनैबेला गिरिजाबाबु थिए ।

अहिले कांग्रेसमा गिरिजाबाबुको सम्झना मात्रै छ । उनी जस्ता नेता छैनन । भएका नेताहरुले बुद्धि र विवेक पुर्याउन सकेका छैनन । देशको परिवर्तनमा सबैभन्दा बढी सफल र पहिलो नेतृत्वदायी पार्टी कांग्रेसले अब बरालिने नभई सही दिशामा गतिशिल भएर लाग्नुपर्ने समय आएको छ । यसैको पर्खाईमा आम कांग्रेस कार्यकर्ता पनि छन । जसको आवाज कांग्रेस नेतृत्व वा पार्टी सभापति देउवाले सुनिदेउन भन्ने उनीहरुको चाहना छ ।

तर पार्टी सभापति देउवाले कार्यकर्ताको यो वेदना साच्चिकै सुन्लान त ?

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार