चुनाव बहिष्कार गरेका तिङ्लाबासीले भोट गर्लान ?


Share This

नेपालबहस संवाददाता    

सोलुखुम्बु । स्वस्फुर्त रुपमा चुनाव बहिष्कार गरेका सोलुखुम्बुको तिङ्लामा उपचुनाव हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले सोलुखुम्बुको तिङ्लामा उपचुनाव गर्न निर्वाचन आयोग तथा नेपाल सरकारलाई सिफारिस गरेको हो ।

‘नो भोट, नो क्यान्डिडेट’ अभियान चलाएको सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –११, तिङ्लामा कार्यालयले उपचुनावका लागि मंगलबार सिफारिस गरेको हो ।

स्थानीय तह पुनर्संरचनाको बेला आफूहरुलाई पायक पर्ने सोलुदूधकुण्ड नगरपालिकामा नराखी ६ घण्टा टाढा जानुपर्ने नेचासल्यान गाउँपालिकामा राखिएको भन्दै तिङ्लाबासीले यसअघिका तिनै तहको चुनाव बहिष्कार गरेका थिए ।

साविक तिङ्ला गाविस हालको सोलु–दूधकुण्ड नगरपालिका–११, मा स्थानीय तहको चुनावमा उम्मेदवारी नै नपरेका कारण जनप्रतिनिधि चयन भएको छैन ।

तिङ्लाममा उपनिर्बाचन गर्न जिल्ला निर्वाचन कार्यालयले केन्द्रमा विवरण पठाएको जनाएको छ । निर्वाचन कार्यालयले गृह मन्त्रालयमा विवरण पेस गरिसकेको र सरकारले निर्णय गरेमा आफूहरु चुनाव गराउन तयार रहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका प्रमुख मधुकरप्रसाद पोखरेलले जानकारी दिए ।

तिङलासहित देशभरमा ३२ जना जनप्रतिनिधिको पद रिक्त रहेको छ । ९९५ घरधुरीका करिब ५ हजार जनसंख्या रहेको तिङलामा स्थानीय चुनावमा २६७६ मतदाता थिए । अहिले यो संख्या बढेर ३२ सय पुगेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार