……..अनि रोनाल्डो बलुन डे’ओरबाट बञ्चित भए !


Share This

नेपालबहस संवाददाता    

रोनाल्डोको त्यागले मोड्रिकलाई सफलता

नेपाल बहस डेस्क ।

स्पेनिस जायन्ट रियल मड्रिड उपाधि विहिन हुन लागेका बेला रोनाल्डोले मरिमेटेर गोल गरे । टोलीलाई च्याम्पियन्स लिगको फाइनल पुर्याए ।

तर फाइनलमा ग्यारेथ बेलले बेञ्चबाट आएर रियलका लागि दुई गोल गरे । समुह चरण देखि सेमीफाइनलसम्म गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगको फाइनलमा गोल विहीन भए ।

रियलले १३ औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्दा रोनाल्डोलाई दुखित बनाएको यो मात्रै एउटा कारण होइन । रुस विश्वकपमो पहिलो खेलमै ह्याट्रिक गरे । तर प्रिक्वाटरफाइनलबाट टोलीलाई अगाडी बढाउन सकेनन । त्यसलगत्तै भएको पिफा उत्कृष्ट खेलाडीको उत्कृष्ट तीन खेलाडीमा उनै दाबेदार थिए ।

तर क्रोएसियालाई फाइनल पुर्याएका लुका मोड्रिकले ‘द बेस्ट’ ट्रफी चुमे । च्याम्पियन्स लिगमा रोनाल्डोको फाइनलसम्मको मेहनत छायामा पर्यो । त्यसलगत्तै बेलुन डिओरका लागि पनि मोड्रिक, मोहम्मद सलाहसँगै रोनाल्डो अन्तिम तीनमा परे । तर फिफाकै मूल्यांकनलाई निरन्तरता दिदै फ्रान्स फुटबल बोर्डले पनि मोड्रिकलाई नै बेलुन डिओर दियो ।

दुई ठूला अवार्ड समारोहमा रोनाल्डो खाली हात भएपछि अहिले महसुस गर्दैछन । रियल मड्रिडको प्रभाव र समर्थकको माया । रोनाल्डो अहिले इटालिएन क्लब युभेन्ट्समा छन । तर धेरैको रोजाईको क्लब हो रियल मड्रिड । जहाँबाट मोड्रिकले नसोचेको सफलता हात पारे ।

पेले युद्ध

फुटबलका भगवान भनेर चिनिन्छन ब्राजिलका पेले । जब उनले फुटबल खेल्न शुरु गरे । विश्वभरका मानिसहरु फुटबल हेर्न थाले । अर्थात फुटबल त्यसपछि लोकप्रिय बन्न थालेको हो ।  कतिसम्म भने पेलेको खेल हेर्नकै लागि अर्जेन्टिनामा चलिरहेको गृहयुद्ध रोकिएको थियो ।

दुबै हतियारधारीले पेलेको खेल हेर्न मैदान जाँदा एक दिनका लागि युद्धबिराम गरेका थिए । ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेले विश्व क्लब फुटबलमा सबैभन्दा बढी साढे ७ सय गोल गर्ने खेलाडी हुन । उनकै लोकप्रियता र खेलकौशल पछ्याउँदा ब्राजिलले अहिलेसम्म सर्वाधिक पाँच पटक विश्वकप उपाधि जितेको छ ।

पेलेलाई टक्कर दिने खेलाडी हुन अर्जेन्टिनाका डियगो म्यारोडोना । पेले र म्यारोडोनाबीच पनि तिब्र प्रतिष्पर्धा थियो । म्यारोडोनाले आफ्नै बलबुतामा दुई पटक अर्जेन्टिनाका लागि विश्वकप जितेका छन । तर पेले भने तीन पटक विश्वकप उपाधि उचालेका छन ।

त्यसैले म्यारोडोनाभन्दा पेले नै विश्वका सबैभन्दा सर्वश्रेष्ठ फुटबलर हुन । तर आज यही तुलना गर्ने हो भने अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिष्टियानो रोनाल्डोको नाम आउँछ । ठूलो राष्ट्रिय चाँसोको विषय नभएपनि खेलप्रेमीका लागि मन्त्र जस्तै नाम हो, मेस्सी र रोनाल्डो ।

आज हामी अहिलेका महान खेलाडी मेस्सी र रोनाल्डोबीच तुलना गर्दैनौँ । खाली यी दुईको एकाधिकार तोडिएपछि रोनाल्डोले गुमाएको ठूलो मौका र स्टार भ्यालुका विषयमा केन्द्रित हुन्छौँ ।

रोनाल्डोले शुरु गरेको युग

सन् २००६ तिर हुनुपर्छ । पोर्चुगलको स्र्पोटिङ लिस्बोनका फुच्चे खेलाडीलाई महंगो मुल्यमा विश्वकै धनाढ्य क्लब म्यान्चेष्टर युनाइटेड अर्थात म्यान्युले किन्छ । त्यसका पछाडी पनि कारण छ ।

नयाँ सिजनको शुरुवात अगाडी म्यान्युले लिस्बोनसँग मैत्रीपूर्ण खेल खैल्दै थियो । धेरैको अनुमान लिस्बोनलाई म्यान्युले सजिलै हराउँछ भन्ने थियो । तर परिणाम ठीक उल्टो आयो ।  एउटा देशको सानो क्लबले विश्वकै शक्तिशाली क्लबलाई ३–० गोलले हराई दियो ।

एउटा गोल पनि फर्काउन नसकेपछि म्यान्यु झस्किएन मात्रै आफुसँग शक्तिशाली स्ट्राइकर नभएको महसुस गर्यो ।  जतिबेला म्यान्युको प्रशिक्षकमा सर एलेक्स फगुर्सन थिए । एउटा असाधारण फुच्चे खेलाडीका कारण आफ्नो टोली हारेपछि फगुर्सन निकै चिन्तित भए ।

यसको कारण तिनै फुच्चे थिए भने समाधान पनि तिनै फुच्चे हुन सक्छन् भनेर फगुर्सन टिमका बोर्ड सदस्यसँग छलफल गर्न लागे । नभन्दै उनले ती फुच्चे केटालाई टोलीमा अनुबन्ध गर्ने निर्णय लिए ।

उनको निर्णयमा बोर्डका सदस्यले सहमति दिए । त्यसपछि उनी आफै लिस्बोन पुगेर ती फुच्चे खेलाडीलाई लण्डनमा भित्र्याए ।

त्यो फुच्चे केटो

ती फुच्चे खेलाडी थिए, क्रिष्टियानो रोनाल्डो । जसले म्यान्चेष्टर युनाइेटडलाई लगातार तीन पटक प्रिमियर लिग उपाधि जिताए भने एकपटक च्याम्पियन्स लिग ।

प्रिमियर लिग र च्याम्पियन्स लिग जितेपछि रोनाल्डोलाई सन् २००८ मा विश्वकै उत्कृष्ट फिफा बेलुन डेओर दिइयो । त्यसअघि उनकै पुर्व टिममेट ब्राजिलिएन काकाले यो अवार्ड पाएका थिए ।

झण्डै पाँच बर्ष म्यान्चेष्टर युनाइटेडमा बिताएका उनले कुनै कसुर बाँकी राखेनन आफुलाई गोल मेशिन बनाउन । उनकै कारण फुटबलमा नयाँ युग शुरुवात भएको मानिन्छ । च्याम्पियन्स लिग नै जितेपछि स्पेनको रियल मड्रिडले उनीमाथि आँखा लगायो ।

सन् २००९ मा रियलले उनलाई झण्डै ८५ मिलिएन युरोमा सान्टियागो बर्नबेउमा स्वागत गर्यो । त्यसपछि रोनाल्डो रोनाल्डो रहेनन् । अरु नै केही भए । तर रियल आएका चार बर्षसम्म उनले केही गर्न सकेनन । न ला लिगा जित्न सके न त च्याम्पियन्स लिग नै ।

रोनाल्डोलाई रियलमा जम्न समय लागेपछि लियोनल मेस्सीले लगातार चार पटक फिफा बेलुन डिओर उचाले । त्यसमा पनि अधिकांश समय रोनाल्डोलाई पछि पार्दै । गोल गर्नमा रोनाल्डो माहिर थिए । तर उपाधि जित्न नसक्दा उनी व्यक्तिगत ट्रफी जित्न सक्षम देखिदैन्थे ।

रोनाल्डोले शुरु गरेको युगमा मेस्सी प्रवेश गरे । स्पेनकै शक्तिशाली क्लबका दुबै विश्व खेलाडीले ठीक १० बर्ष एकछत्र राज गरे । मानौ की मेस्सी र रोनाल्डोभन्दा उत्कृष्ट खेलाडी विश्वमा अरु छैन ।

रियलको राजा

जब इंग्लिस क्लब टोटेन्हयामबाट गारेथ बेल रियल आए । अनि रोनाल्डोले रियललाई ट्रफीको लाइन लगाई दिए । राम्रो सहयोगी नपाउँदा रोनाल्डोले टिमलाई उपाधि जिताउन सकेका थिएनन ।

यसबीचमा रोनाल्डोले चार पटक रियललाई च्याम्पियन्स लिग जिताए भने व्यक्तिगत पाँच पटक यो लिग जित्ने पहिलो खेलाडी बने । उनले एक पटक ला लिगाको उपाधि पनि जिते ।

पछिल्लो तीन बर्ष लगातार च्याम्पियन्स लिग जितेका रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन । उनले रियलमा रहदा ३ सय ६५ गोल गरे भने च्याम्पियन्स लिगमा रियलकै पुर्व स्ट्राइकर राहुलको किर्तिमान तोडे ।

राहुललाई पछि पार्दै रोनाल्डो च्याम्पियन्स लिगमा १०० गोल गर्ने विश्वकै पहिलो खेलाडी हुन । अहिलेका समकालिन खेलाडीमा देशका लागि सर्वाधिक ८० बढी गोल गर्ने पनि रोनाल्डो नै हुन ।

रियल मड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डो रियलका राजा नै हुन । तीन पटक लगातार च्याम्पियन्स लिग जित्नु, सर्वाधिक गोलकर्ता हुनु, ला लिगामा सर्वाधिक ह्याट्रिक गर्नु, व्यक्तिगत अवार्ड सबै मिलाउने हो भने रोनाल्डोको यो किर्तिमान तोड्न अब असम्भव नै छ । त्यसैले पनि रोनाल्डो रियलका राजा थिए ।

मेस्सी–रोनाल्डोको युग

लगातार उत्कृष्ट फुटबल खेल्ने रोनाल्डोले पछिल्लो ६ बर्षमा चार पटक बेलुन डिओर अवार्ड जिते । उनले जति पनि उपाधि जिते यही ६ बर्षमा जितेका हुन । च्याम्पियन्स लिग, ला लिगा, कोपा डेल रे कप, स्पेनिस कप, क्लब वल्र्डकप सबै उपाधि रोनाल्डोले जितेका हुन ।

त्यसअघि मेस्सीले लगातार चार बर्ष च्याम्प्यिन्स लिग, ला लिगा, क्लब वल्र्डकप जितेर बेलुन डिओर जिते । त्यसपछि फेरी चार बर्ष रोनाल्डोले बेलुन डिओर जिते । बीचमा सन् २०१५ मा मेस्सीले यो उपाधि चुमेका थिए ।

तर पछिल्लो दुई बर्ष यता रोनाल्डो फर्ममा छैनन । उनले पर्याप्त गोल गर्न नसकेपनि रियललाई सन् २०१७ को च्याम्पियन्स लिग उपाधि जिताउन एक्लैले हरप्रयास सम्भव पारेका थिए ।

सायद रियलका लागि उनको यो अन्तिम उपाधि थियो । लगत्तै उनले रियल छाडेर युभेन्ट्ससँग अनुबन्धित भए । यसका पछाडी रियलका अध्यक्ष फ्लोरिन्टो पेरेज कारण मानिन्छन ।

रोनाल्डोको खराब फर्मबाट उनी सन्तुष्ट नभएपछि क्लब छाड्न दबाब दिएका थिए । फल्स्वरुप रोनाल्डोले सन् २०१७ मा जितेको बेलुन डिओर नै उनका लागि अन्तिम व्यक्तिगत अवार्ड बन्यो ।

च्याम्पियन्स लिग जितेकै कारण उनी यस बर्ष पनि फिफा उत्कृष्ट खेलाडी र बेलुन डिओरका निर्विवाद दाबेदार थिए । तर विश्वकप फुटबलमा उनकै टिममेट लुका मोड्रिकले असाधारण प्रदर्शन गरेर क्रोएसियालाई फाइनल पुर्याएपछि रोनाल्डोलाई धक्का लाग्यो ।

त्यसमाथि च्याम्पियन्स लिगको फाइनलमा गोल गर्न नसक्नु र विश्वकपमा पोर्चुगललाई फाइनलसम्मै पु¥याउन नसक्नु रोनाल्डोका कमजोरी रहे । यही कमजोरीमाथि मोड्रिकले सफलता चुमे ।

विश्वकै उत्कृष्ट क्लब रियल छाडेर युभेन्ट्स जानु नै रोनाल्डोका लागि पछिल्ला दुई व्यक्तिगत उपाधि चुम्न नसक्नुका कमजोरी हुन । रियलका सथर्मक विश्वभर छन । रोनाल्डोले क्लब छाडेपछि समर्थक बढी दुःखीत भएका थिए । जसको परिणाम फिफा उत्कृष्ट खेलाडी र बेलुन डिओरमा पर्न गयो ।

रियल छाड्नु नै घातक !

लुका मोड्रिकले यस बर्षको फिफा उत्कृष्ट खेलाडी र बेलुन डिओर दुबै अवार्ड जितेपछि मेस्सी–रोनाल्डो युगको अन्त्य भएको छ । र कुनै पनि मिडफिल्डरले यो उपाधि जितेको पनि यो पहिलो पटक नै मानिन्छ, पछिल्ला दशकमा ।

अब मेस्सी र रोनाल्डोले लगातार यो अवार्डमा राज गर्न चुनौति छ । रोनाल्डोले रियल छाडेकै दिन मेस्सीको प्रभाव पनि कम भइसकेको छ । किनकी रोनाल्डोकै कारण मेस्सी चिनिएका थिए ।

युभेन्ट्समा रोनाल्डो गोल गरिरहेका छन । तर निकै कम । ठूलो मेहनतपछि मात्रै । मेस्सीले बार्सिलोनामा गोल बर्षाएकै छन । त्यसैले अबका बर्षमा मेस्सी केही चम्केपछि दुबै जना चम्किने सम्भावना छैन ।

त्यसको एउटै कारण हो, रियल छाडेर रोनाल्डो बाहिरिनु । र ला लिगामा मेस्सी प्रभाव बढ्नु । अनि मोडिरिक जस्ता खेलाडी अब लाइमलाइटमा आउनु पनि रोनाल्डोको बहिगर्मन नै हो ।

हाल ३३ बर्षका रोनाल्डो अब गोलका भोका भएपनि क्षमता र उमेरले दिदैन । उनी बिस्तारै गोल विहिन हुनुले फुटबल समर्थक पनि न्यास्रो मानिरहेका छन । त्यसमाथि मोड्रिकले बेलुन डिओर जित्नु अब रोनाल्डो र मेस्सीको युग सकिदैछ भनेर महसुस भइसकेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार