fbpx

अध्यक्ष र सचिवको मिलेमतोमा बहुविवाह दर्ता, राजश्व रसिद गाएब


Share This

नेपालबहस संवाददाता    

प्रकाश डोटेल

स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ९ का अध्यक्ष र सचिवको मिलेमतोमा दोस्रो विवाह दर्ता गरिदिएको खुल्न आएको छ । विवाहित भएको थाहा हुँदाहुँदै पनि वडा अध्यक्ष शंकरभक्त भण्डारी र वडा सचिव दशरथ भट्टराईको मिलमतोमा विवाह दर्ता गरिदिएका हुन् ।

स्थानीय केशव पंगेनीले गएको वैशाखमा पुतलीबजार नगरपालिका १३ बस्ने २५ वर्षिय प्रतिमा रेग्मीसँग दोस्रो विवाह गरेका थिए । अध्यक्ष भण्डारी र सचिवलाई उनीहरुबीच दोस्रो विवाह भएको जानकारी हुँदाहुँदै पनि रकमको चलखेलमा विवाह दर्ता गरिदिएको पंगेनीकी जेठी श्रीमती खेमकुमारी पंगेनीले आरोप छ ।

केशवसँग वैवाहिक जीवनमा बाँधिएकी खेमकुमारीले २०६३ साल फागुन २४ गते पति कायम गरिएको नागरिकता देखाउदै उनले अध्यक्ष भण्डारी र सचिव दशरथ भट्टराईलाई कारवाही गर्नुपर्ने माग सहित चापाकोट नगरपालिकाको न्यायिक समिति समक्ष निवेदन दर्ता गराएकी छिन् । केशवराजसँग प्रेम विवाह गरेकी खेमकुमारी तर्फ एक छोरा र दुई छोरी छन् ।

चापाकोट नगरपालिका वडा नं ९ को कार्यालयको दर्ता रजिष्टरमा २०७५ माघ १३ गते १०००४५ नं मा दर्ता मिति रहेको र केशवराज पंगेनीले पुतलीबजार नगरपालिका वडा नं १३ बस्ने वर्ष २५ की प्रतिमा रेग्मीसँग २०७५ बैशाख ४ गते विवाह भएको प्रमाण खुलासा भएको छ ।

निष्पक्ष रुपमा जनप्रतिनिधिले जनताको काम गरुन भन्ने चाहना राखेका छन्, तर जनताको मत जितेर नेतृत्व तहसम्म पुगेका जनप्रतिनिधिमा नै यस्ता गलत नियत देखिएकोमा स्थानीयले आक्रोश व्यक्त गरे । उनीहरुले दोषी उपर नियमानुसार कारबाही गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

भुलबश बहुविवाह दर्ता भएको स्पष्ट पार्दै वडा सचिव भट्टराईले आफूबाट गल्ती भएपछि दर्ता प्रमणपत्र सक्कलै फिर्ता लिएको बताए । वडाअध्यक्ष कार्यालयमा हुनुन्थेन भट्टराईले भने, “प्रक्रिया पुरा गरेर खाएको देखेपछि भुलबश जारी भएको विवाह दर्ता प्रमाण फिर्ता लिएको छु, अनुसन्धान होस कानून अनुसारको कारबाही सहन तयार छु ।”

“विवाह दर्ता भएको मितिमा म कार्यालय नभएर बाहिर थिए ।” वडाध्यक्ष भण्डारीले भने, “मलाई फोनबाट प्रक्रिया पुरा गरेर विवाह दर्ता गर्न आएका छन्, गरौं भनेर वडा सचिवले सोधे मैले हुन्छ भने ।” आरोप लगाए जस्तो गरि रकमको चलखेल नभएको उनले दाबी गरे ।

सोहि वडाका अध्यक्ष र सचिवले वडा कार्यालयमा राजश्व रसिदमा उठेको रकम व्यक्तिगत रुपमा खर्च गरेर राजश्व रसिद नै गाएब बनाएको नगरपालिकामा उजुरी दर्ता भएको छ । झण्डै ३ महिनासम्म उठाएको राजश्व अनियमितता गरेर रसिद गाएब पारिएको नगरपालिको जनाएको छ । नगरपालिकाका अनुसार रसिदबाट कति रकम उठेको थियो त्यसका अनुसन्धान भईरहेको छ ।

वडा कार्यालयबाट राजश्व रसिद नै गाएब भएपछि त्यसको खोजिका लागि विन्दु कोईरालाको संयोजकत्वमा अनुसन्धान टिम बनेको नगरपालिकाले जनायो । “वडाका जनप्रतिनिधि र कार्मचारीबाट गम्भिर लापरबाही भएको भनेर प्रतिबेदन दिएका छौं ।” संयोजक कोईरालाले भने, “महालेखामा प्रतिबेदन बुझाएका छौं हेरौं कारबाही कस्तो हुन्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार