मोरङमा १५ प्रतिशत गर्भपतन किशोरावस्थामै


Share This

नेपालबहस संवाददाता    

विराटनगर । मोरङमा १५ प्रतिशत सुरक्षित गर्भपतन किशोरावस्थामै हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल परिवार नियोजन संघ विराटनगर शाखाका कार्यालय प्रमुख शंकर दाहालले १४ देखि १९ वर्ष उमेरका १५ प्रतिशत किशोरीले गर्भपतन गराउने गरेको बताए ।

नेपाल परिवार नियोजन संघले विराटनगरमा जिल्लास्थित सरोकारवाला कार्यालयसँग गरेको छलफलका क्रममा जिल्लामा गर्भपतन गराउन आउनेको संख्या पनि बढ्दै गएको जनाएको छ । शाखाका प्रमुख दाहालका अनुसार सन् २०१७ मा २ सय ७३ जनाले गर्भपतन गराएकोमा २४ वर्षमुनिका २५ प्रतिशत किशोरीले गर्भपतन गर्ने गरेका छन् ।

‘गर्भपतन गोपनियताको विषयसँग जोडिएर आउने भएपनि परिवार नियोजन गर्न आउने तथ्याङ्क हेर्दा १४ देखि १९ वर्ष उमेर समूहका १५ प्रतिशतले गर्भपतन गराउनु भनेको विवाह पूर्वको गर्भपतन भएको बुझ्न सकिन्छ ।

परिवार नियोजन संघले १२ हप्तासम्मको सुरक्षित गर्भपतन, पाठेघरको मुखको क्यान्सर, सामान्य स्वास्थ्य जाँच, खोप, परिवार नियोजनसँग सम्बन्धित कामहरू गर्दै आएको परिवार नियोजन शाखा विराटनगरले जनाएको छ ।

शाखाले स्वेच्छिक परामर्श, गर्भवति परीक्षण लगायतका काम पनि गर्दै आएको छ । सन् २०१७ मा १७ हजार ६५ जनाले परिवार नियोजन गराएका छन् । २०१८ मा १८ हजार ८ सयको परिवार नियोजन गर्ने योजना परिवार नियोजन संघसँग रहेको संघका अध्यक्ष सन्तनु रेग्मीले बताए ।

सानै उमेरमा समेत बालिकाको गर्भपतन गरेको समेत पाइएकाले त्यस्ता विषय कानूनी हुने र प्रहरीसँग सम्बन्धित भएकाले प्रहरीलाई जानकारी गराएर मात्र गर्भपतन गराउनुपर्ने जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी निरीक्षक जमुना बस्नेतले बताइन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार