पछिल्लो समय नोबेलमा मुटुका बिरामीको अत्याधिक चाप


Share This


नेपालबहस संवाददाता    

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको मुटु विभागमा पछिल्लो समय विरामीको अत्याधिक चाप बढेको छ । सहुलियत दरमा स्तरीय उपचार पाएका कारण विरामीको संख्या बृद्धि भएको नोबेल मुटु विभागले जनाएको छ ।

केहि बर्षअघिसम्म बार्षिक करिब ६ हजार बिरामी आउने गरेको मुटु विभागमा अहिले मासिक ३ हजार भन्दा बढी बिरामी आउने गरेका छन् । दैनिक करिव दुई हजार बिरामीको उपचार गर्दै आएको नोबेल अस्पतालमा १ सयभन्दा बढी मुटु रोगीले दैनिक उपचार गराउने गरेको नोबेल अस्पतालका निर्देशक एवम् मुटु विभाग प्रमुख डा।राजेश नेपाल बताउँछन् ।

मोरङ, सुनसरी, झापा, धनकुटा, ईलाम, पाँचथर, ताप्लेजुङ लगायत पूर्वी नेपालका बिरामी नोबेलमा बढी मात्रामा आउँछन् । छिमेकी देश भारतका बिभिन्न स्थानबाट पनि मुटु रोगको उपचारका लागि बिरामीहरु आउँने गरेको नोबेल अस्पतालले जनाएको छ ।

२०६१ सालबाट सुरु भएको नोबेल अस्पतालमा करिव तीन बर्ष अघिबाट मुटु रोगको उपचार थालिएको हो । सुरुवाती चरणमा मासिक करिब ५ सय बिरामीको उपचार गर्ने गरिएको थियो । तर, पछिल्लो समय मुटु रोगीको संख्या ह्वातै बढेको हो । सुरुवाती चरणको तुलनामा अहिले करिव ६ गुणाले मुटु रोगीको संख्या बृद्धि भएको नोबेल अस्पतालको बिरामी रेकर्डले देखाएको अस्पतालले जनाएको छ ।

नोबेलले मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेपछि बिरामीको थप आकर्षण बढेको हो । बिपन्न नागरिक औषधि उपचार कोषमार्फत मुटु रोगको उपचारमा एक लाखसम्मको सहुलियत दिने गरिएकाले पनि उपचारका लागि नोबेल आउने गरेको बिरामीहरु बताउँछन् । सहुलियतसँगै गुणस्तरीय उपचार पाउँने भएकाले नोबेल आउँने गरेको बिरामी र बिरामीका आफन्तहरुको भनाई छ ।

उपचार सेवामा स्तरीयता बढाउँदै लगेको नोबेल अस्पतालले यसअघि २ अर्व ४० करोडको लगानीमा दक्षिण पूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेर जटिल रोगको पनि सहजै उपचार गर्दै आएकाले न्यूरोमा पनि बिरामीको अत्याधिक चाप छ ।

बिरामीलाई सहुलियत दरमै स्तरीय उपचार दिलाउने उद्धेश्यले आवश्यकता अनुसार सेवामा स्तरीयता बढाउँदै लगिएको नोबेल अस्पताल सञ्चालक डा।सुनिल शर्माको भनाई छ ।

तपाईको प्रतिक्रिया