सूचना प्रविधि शिक्षाको ४९ विद्यार्थीलाई छात्रवृत्ति दिइने


Share This


नेपालबहस संवाददाता    

 

सुर्खेत । कम्प्यूटर एशोसियशन नेपाल महासंघ ‘क्यान’ ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँको सहकार्यमा एक प्रदेशबाट सातजना पर्ने गरी ‘क्यान नेशनल आइसिटी स्कलरसिप २०७५’ प्रदान गर्ने सार्वजनिक गरेको हो ।

सम्मलेनमा महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले सूचना, सञ्चार र प्रविधिमा सक्षमता देखाउन सक्ने सबै प्रदेशका महिलालाई पहिलो प्राथमिकता दिएको बताए ।

उहाँले फिमेल मेरिट आइसिटी स्कलरसिपबाट चार र आइसिटी मेरिट स्कलरसिपबाट तीन जना गरी एक प्रदेशबाट सातजनालाई छात्रवृत्ति प्रदान गरिने जनाए ।

क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित कक्षा १२ वा सोसरह अध्ययन गरेको र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत ल्याएकाले आवेदन दिन पाउने बताए ।

त्यसको साथै सिटिइभिटीबाट कम्प्यूटर इञ्जिनियङिमा स्नातक गरेकाले पनि छात्रवृत्तिका लागि दरखास्त हाल्न पाउने उनले बताए ।

छात्रवृत्तिका लागि साउन ९ गतेसम्म अन्तिम मिति राखेको क्यान महासंघले केन्द्र प्रदेश र जिल्लास्तरको छात्रवृत्ति छनोट समिति गठन गर्ने जनाएको छ ।

कार्यक्रममा कर्णालीका दुर्गम जिल्लाका गरीब, विपन्न र जेहेन्दार विद्यार्थीलाई विशेष प्राथमिकता दिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया