५१ औं रक्तसञ्चार सेवा दिवस भव्यताका साथ सम्पन्न, साढे तीन लाख बिरामी लाभान्वित


Share This

नेपालबहस संवाददाता    

१२ साउन,काठमाडौं । नेपाल रेडक्रस सोसाईटीले देशका ७२ जिल्लाका १०५ स्थानबाट सञ्चालित रक्तसञ्चार सेवामार्फत् आर्थिक वर्ष २०७३÷७४ मा देशभरिबाट दुई लाख ३६ हजार सात सय ९९ यूनिट रगत सङ्कलन गरी तीन लाख ३७ हजार तीन सय २१ विरामीलाई रगत तथा रक्ततत्व वितरण गरेको जनाएको छ । रेडक्रसका प्रवक्ता दिव्यराज पौडेलका अनुसार यस आ.ब.मा तीन हजार सात सय ५३ वटा घुम्ती रक्त सङ्कलन कार्यक्रमहरु सञ्चालन भएका छन् ।

नेपालमा रक्तसञ्चार स्थापना भएको ५१ औँ वर्ष पुगेको उपलक्ष्यमा हिजो काठमाडौँमा आयोजित वार्षिकोत्षव कार्यक्रममा यो जानकारी दिइएको हो । अहिले काठमाडौँमा केन्द्रीय स्तरको, विराटनगर, नेपालगञ्ज, पोखरा र चितवनमा गरी चार स्थानमा क्षेत्रीय स्तरको, २२ वटा जिल्ला स्तरको र ४२ वटा आकस्मिक र ३६ वटा अस्पताल रक्तसञ्चार इकाई सञ्चालनमा रहेका छन् ।

काठमाडौँमा आयोजित मूल कार्यक्रममा नेरेसोका अध्यक्ष सञ्जीव थापाले भने :– “मानिसलाई रगतको औचत्य र महत्वलाई बुझाएर उनीहरुको चित्त बुझाई सेवा प्रदान गर्नु चुनौति पूर्ण कुरा हो । यस संवेदनशील सेवाको निरन्तरता र पूर्णताका लागि, आपूर्ति सहजताका लागि सबै रक्तदाता संघसंस्थाहरुसँग हातेमालो गर्दै नेपाल रेडक्रस संस्थागत प्रतिवद्धताका साथ लागि पर्नेछ ।”

A youth donating blood in the programme

५१ वर्षसम्म निरन्तर रक्तसञ्चार सेवा पु¥याएकोमा रेडक्रसलाई धन्यवाद दिँदै नेपाल सरकार जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोले महिला रक्तदाताहरुको संख्या १५ प्रतिशतमात्र रहेकाले यो संख्या बढाउन पहल गर्नुपर्ने आवश्यकता औँल्याए ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले गुणस्तर नियन्त्रण, प्राविधिक र आर्थिक व्यवस्थापनमा नेपाल सरकारको थप सहयोगको आवश्यकता रहेको बताए । उनले भने  :–धेरै संस्थालाई सहयोगीको रुपमा विस्तार गर्नुपूर्र्व सरकारले गुणस्तर नियन्त्रण हुने र रगतको व्यापारीकरण नहुने सुनिश्चिता गर्नुपर्दछ ।

51 year programme at Kathmandu

कार्यक्रममा केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदनका अनुसार नेपालमा रक्तदाताहरुमध्ये ९६.९० प्रतिशत पोजेटिभ रक्तसमूह र ३.१० प्रतिशत नेगेटिभ रक्त समूहका रहेका छन् । त्यस्तै सङ्कलित रगतको नियमित जाँचबाट एचआइभी सङ्क्रमित ०.०४ प्रतिशत र हेपाटाइटिस बि ०.२२ प्रतिशत देखिएको छ । त्यस्तै हेपाटाइटिस सि र सिफलिसको सङ्क्रमित प्रतिशत क्रमशः ०.१७ र ०.३५ रहेको छ ।

रेडक्रस सोसाइटीका उपाध्यक्ष अजीतकुमार शर्मा, कोषाध्यक्ष देवेन्द्र बहादुर प्रधान, उप महामन्त्री हरिप्रसाद न्यौपाने, रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसीका कोअपरेसन प्रमुख प्रमेश पौडेल लगायतले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका अध्यक्ष केन्द्रीय रक्तसञ्चार व्यवस्थापन समितिका सभापति डा. युवराज शर्माले सुरक्षित, चाहिने जति र समयमा नै रगतको आपूर्तिका लागि नेपाल सरकारको दायित्व रहेकोले सरकारले सेवाको स्तरीकरण, गुणस्तरीयता र निरन्तर सेवाका लागि सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल रेडक्रसका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरु, स्वयंसेवी रक्तदाता संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, रक्तदाता, नेपाल रेडक्रस सोसाइटीका कर्मचारीहरु, पत्रकारलगायतको उपस्थिति रहेको र वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदानको पनि आयोजना गरिएको नेरेसो सञ्चार विभागका प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।

नेपालगञ्जमा पनि कार्यक्रम :

क्षेत्रीय रक्तसञ्चार सेवाको आयोजनामा रक्तसञ्चार सेवा दिवस नेपालगन्जमा पनि मनाइएको छ । रक्तसञ्चार सेवा सम्बन्धि प्रवचन र खुला रक्तदान कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

कार्यक्रममा भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ड वीरेन्द्र बहादुर चन्दले रेडक्रसले सुत्केरी, घाइते लगायतका अन्य विरामीहरुलाई तत्काल रगत उपलब्ध गराउन तत्पर रहेकोले स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको बताए ।

Programme at Nepalgunj

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले हामी सबैको साझा प्रयासबाट आज रक्तसञ्चार सेवा यो अवस्थामा आइपुगेको बताउँदै हरेक दिन रगतको माँग बढदै गएकोले रक्तदान गर्न सरोकारवालालाई आग्रह गरे ।

नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवाका इन्र्चाज उपेन्द्र रेग्मीले यो आर्थिक वर्षमा ११ हजार २ सय ५७, रगत संकलन र १२ हजार ६ सय ३६ रगत वितरण भएको जानकारी गराए ।

स्वास्थ्य समितिका संयोजक राकेशबहादुर श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो शाखाका पदाधिकारी र सदस्यहरु, स्वयंसेवी रक्तदाता, स्वयंसेवक, कर्मचारी र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार