जिल्ला अस्पताल खोटाङको उपकरणहरु स्थानीयको घरमा, सामान राख्ने अर्जुन चौलागाईं सम्पर्क बिहीन


Share This

नेपालबहस संवाददाता    

२५ असोज, काठमाडौं । खोटाङ जिल्ला प्रशासन कार्यालयले शिलबन्दी गरेको एउटा घर खाली गरेर तत्काल भाडा उपलब्ध गराई दिन घरधनीले प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका छन् ।

जिल्ला अस्पातलले लिलाम गरेको उपकरण राखिएको दिक्तेलस्थित रत्नपार्क नजिक रहेको घर खाली गरेर भाडा उपलब्ध गराइ दिन अनुरोध गर्दै घरधनी राजन केसीले प्रजिअ एकदेव अधिकारी समक्ष लिखित माग गरेका हुन् ।

२०७२ साल चैत ७ गतेबाट मासिक रु १० हजार भाडामा लिएर लिलाम गरिएको उपकरण राखिएको घरमा प्रशासनले २०७३ साल असोज १२ गते शिलबन्दी गरेको थियो । प्रशासनले शिलबन्दी गरेपछि उपकरण राख्ने अर्जुन चौलागाईं पनि अहिलेसम्म सम्पर्कमा नआएको घरधनी केसीको गुनासो छ ।

केसीको घरको तीनवटा सटरमा अस्पतालले लिलाम गरेको आधाभन्दा बढी उपकरण राखिएको छ । “भाडाबापतको रकमको लोभमा घर दिइयो ।” केसीले भने, “अहिले न भाडा पाइयो, न घर नै खाली गरिदियो । सबैभन्दा अप्ठ्यारोमा म परेको छु ।”

“प्रशासनको तर्फबाट अघिल्लो सिडिओको पालामा शिलबन्दी गरिएको रहेछ,” प्रजिअ अधिकारीले भने, “यसमा घरधनीको कुनै दोष छैन । सम्बन्धित व्यक्तिलाई झिकाएर हल गर्ने योजना बनाएको छु ।”

लिलाम बिक्री गरिएका उपकरण मर्मत गरेर काम लगाउन र सिलप्याक नै नतोडिएको उपकरणलाई कवाडीको भाउमा बिक्री गरिएको भन्दै विरोध शुरु भएपछि प्रशासनले राखेकै ठाउँमा पुगेर शिलबन्दी गरेको थियो । अस्पतालले लिलाम गरेका ११२ थरिका उपकरण तथा सामान मर्मतका लागि बाहिर लैजान केसीसहित दिक्तेलका तीनजनाको घरमा राखिएको अवस्थामा प्रशासनले शिलबन्दी गरेको हो ।

लिलाममा परेका उपकरणमध्ये अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० गरी ११२ थरिका उपकरण २६ हजार ५०० मा लिलाम बिक्री गरेको खुलासा भएको छ । अस्पताल विकास समितिलाई जानकारी नै नगराइ करोडौँको उपकरण न्यून मूल्यमा बिक्री गरेको भन्दै खोटाङ एकता सेवा समाज खोटाङले दोषीमाथि कारबाही गर्न र लिलाममा परेका उपकरण शिल गर्न प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको थियो ।

अस्पतालको उपकरण लिलामका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो दिएको थियो । उपकरण लिलाम प्रकरणबारे छानबिन गर्न मन्त्रालयको टोली खोटाङ आएर गएपनि अहिलेसम्म कुनै कारबाही भएको छैन ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार