अत्यधिक गर्मीका कारण चार स्थानीय तहका विद्यालय बन्द


Share This


नेपालबहस संवाददाता    107 Views

पर्सा । एक सातायता बढेको अत्यधिक गर्मीका कारण चार स्थानीय तहमा रहेका विद्यालय मंगलबारदेखि बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो ।

वीरगञ्ज र पोखरीयामा असार ३ गतेसम्मका लागि तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा भने सोमबारदेखि शुक्रबारसम्म पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । वीरगञ्जमा रहेका सम्पूर्ण विद्यालय आइतबारसम्मका लागि बन्द गराइएको महानगरपालिका शिक्षा शाखाका अधिकृत मञ्जुर अन्सारीले बताए ।

अत्याधिक गर्मी बढ्दै गएपछि विद्यार्थी र अभिभावकको आग्रहमा सखुवा प्रसौनी गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालय पाँच दिनका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले बताए ।

ठोरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालय पनि पाँच दिनका लागि बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण विद्यार्थीमा बान्ता हुने, टाउको दुख्ने, रिंगटा लाग्ने समस्या देखिन देखिएको ठोरी गाउँपालिकाका शिक्षा संयोजक छोटेलाल प्रसादले बताए ।

तपाईको प्रतिक्रिया