काठमाडौं विश्वविद्यालयलाई स्थानीय तहमा राख्न सिफारिस,सच्याउन लबिङ


Share This


नेपालबहस संवाददाता    

काठमाडौं  । नेपालको संविधानमा केन्द्रीय र प्रादेशिक गरी दुई तहका विश्वविद्यालय रहने व्यवस्था छ । तर, विश्वविद्यालय अनुदान आयोगले गठन गरेको अध्ययन समितिले तीन तहको विश्वविद्यालय सिफारिस गरेको छ । त्रिरत्न मानन्धर संयोजकत्वको समितिले तयार पारेको प्रतिवेदनमा नेपालका विश्वविद्यालयहरुलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा वर्गीकरण गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय, खुला विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयलाई केन्द्रमा राख्न समितिले सिफारिस गरेको छ । यसैगरी पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम, सुदूरपश्चिम र राजर्शी जनक विश्वविद्यालयलाई प्रदेशमा राख्न सफिारिस गरिएको छ । काठमाडौं विश्वविद्यालय केयू लाई भने स्थानीय तहमा राख्न सिफारिस गरिएको छ ।

समुदायको स्रोत साधन र समुदायको सहयोगमा चल्ने ऐन नियम भएकाले काठमाडौं विश्वविद्यालयलाई स्थानीय तहअन्तर्गत राख्न सुझाव दिइएको अध्ययन समितिका एक सदस्यले बताए । आयोगले गठन गरेको अध्ययन समितिले काठमाडौं विश्वविद्यालयलाई स्थानीय तहअन्तर्गत राख्न सुझाव दिएपछि काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरु यसलाई सच्याउने लबिङमा लागेका छन् ।

केयुका पदाधिकारीको भनाइ अनुसार हालै सार्वजनिक विश्वका विश्वविद्यालयहरुको सूचीमा त्रिभुवनभन्दा काठमाडौं विश्वविद्यालय अगाडि छ ।विश्वमा काठमाडौं विश्वविद्यालय ३५१२ औं र त्रिभुवन विश्वविद्यालय ३८१६ औं स्थानमा छन् । नेपालका विश्वविद्यालयहरुको सूचीमा पनि काठमाडौं विश्वविद्यालय एक नम्बरमा छ ।

काठमाडौं विश्वविद्यालयका एक पदाधिकारीले भने, ‘कुनै पनि विश्वविद्यालयको वर्गीकरणको आधार भूगोललाई मात्र बनाइनुहुँदैन । त्यसले दिने क्वालिटीलाई पनि ख्याल गर्नुपर्छ । त्यसैले समितिको प्रतिवेदनमा हाम्रो असहमति छ ।’

काठमाडौं विश्वविद्यालयलाई सरकारले सुरुमा भक्तपुरको चाँगुनारायणमा स्थापना गर्न अनुमति दिएको थियो । तर, त्यहाँ जग्गाको विवाद भएपछि काभ्रेको धुलिखेलबाट सन्चालित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार