नेप्से सूचकमा १३.९१ अंकको सुधार, लगानीकर्ता कारोबारमा फिर्ता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेन्जको नेप्से सूचक १३.९१ अंकले सुधार देखिएको छ। मंगलबार कारोबार बहिष्कार गरेका लगानीकर्ताले बुधबार दिउँसोदेखि कारोबार गरेका थिए।

राजस्व विभागले बोनस र हकप्रद शेयरको आधार मूल्यमा पूँजीगत लाभ कर लगाउन निर्देशन दिएसँगै आन्दोलनमा उत्रिएका लगानीकर्ता सरकारले यस्तो कर फिर्ता लिएसँगै दिउँसो एक बजेर १३ मिनेट पछि कारोबार सुरु गरेका थिए।

ढिला गरी सुरु भएको बजार कारोबार सुरु भएदेखिनै बढ्न थालेको थियो। कारोबार सुरु भएको एक घण्टासम्ममा २३ अंकको सुधार देखिए पनि २ बजेर ६ मिनेट पछि केही करेक्सन हुँदै बन्द हुँदासम्म १३.९१ अंकको मात्रै सुधार देखियो। सूचकमा केही सुधार देखिए पनि कारोबार रकम भने २३ करोड ८९ लाख रुपैयाँको मात्रै भयो। बुधबार अन्य उपसूचक बाहेक बाँकी सूचक तथा उपसूचक उकालो लागेको छ। सबैभन्दा धेरै माइक्रोफाइनान्सको उपसूचक २.०९ प्रतिशतले सुधार देखिएको छ।

आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयर तीन करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै बृद्धि भएको नागवेली लघुवित्तको कारोबारमा सर्किट लागेको छ। त्यस्तै कालिका माइक्रोक्रेडिटका शेयरधनीले ३.३४ प्रतिशतले गुमाएका छन्।

आइबारबाट आन्दोलनमा उत्रिएका लगानीकर्ता मन्त्रालयले कर फिर्ता लिएसँगै लगानीकर्ताले पनि आफ्नो आन्दोलन स्थगित गरेका छन्। सरकारले चालु आर्थिक वर्षभरी यस्तो कर नलगाउने तर आगामी आर्थिक वर्षको लागि अर्थमन्त्रालयले थप अध्ययन गरि अध्ययन प्रतिवेदन अनुसार निर्देशन गर्ने भनेको हुँदा लगानीकर्ताले आन्दोलन फिर्ता लिएका हुन्।

तपाईको प्रतिक्रिया
Road Show Real State