विश्वकपमा खेल्न नपाउने यसपालिका टीम यस्ता छन्


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । रुसमा जेठ ३१ गतेदेखि शुरू हुने फिफा विश्वकपमा इटली, चिली, नेदरल्यान्ड्स र अमेरिका जस्ता टोली नहुँदा धेरैजना आश्चर्यमा परेका छन् । चारचोटिको विश्वविजेता इटली र फिफा –यांकिङमा टप १० टीममा रहेको चिली छनोट हुन सकेनन् ।

इटलीले सन् १९३४ को विश्वकपमा भाग लिएको थियो । त्यतिखेरदेखि अहिलेसम्म ऊ तीनचोटि मात्र छनोट हुन सकेको छैन । दुईचोटि कोपा अमेरिका कप जित्ने चिली पनि विश्वकपमा छनोट नहुँदा प्रशंसकहरू चिन्तित छन् । त्यस्तै, सन् २०१० को विश्वकप फाइनलमा खेलेको नेदरल्यान्ड्स पनि छनोट भएन ।

पेरु भने ३६ वर्षपछि विश्वकपमा चुनौती प्रस्तुत गर्दैछ । इटलीको कुरा गर्दा उसका खेलाडीहरू विपक्षीको हिसाबमा रणनीति परिवर्तन गर्थे । इटलीका खेलाडीहरू स्पेनको जस्तो सानो सानो पास खेल्दैनन् । विपक्षी टोलीले लामो पासको रणनीति बनायो भने मात्र उनीहरू सानो सानो पास गर्थे ।

त्यसैले त सन् १९९० को विश्वकपमा लगातार पाँच खेलमा उसले एक गोल पनि खाएन । यसमा ऊ स्विट्जरल्यान्डसँग शीर्ष स्थानमा छ ।इटलीले सन् २००२ देखि २०१४ को विश्वकपमा लगातार १५ म्याचमा गोल गरेको थियो । विश्वकपमा सबभन्दा बढी गोल गर्ने टोलीमा ऊ चौथो स्थानमा छ । इटलीले सन् १९३४, १९३८, १९८२ र २००६ मा उपाधि जितेको थियो । ब्राजिलपछि सबभन्दा धेरै उपाधि जित्ने टोली इटली र जर्मनी हुन् ।

इटलीका पूर्वकप्तान तथा गोलकीपर जियानलुइगी बुफोनले सन् २००६ को विश्वकपमा लगातार चार म्याचमा ४६० मिनेटसम्म कुनै गोल खाएका थिएनन् । यसपाली चाहिँ टीमले क्वालिफाई गर्नुअघि नै उनले संन्यास लिए ।

आर्तुरो भिडाल र एलेक्सिस सान्चेज जस्ता स्टार फूटबल भएको चिली पनि विश्वकमा देखिनेछैन । सान्चेज र भिडालले टीमका लागि कुल २११ खेल खेले र ६३ गोल गरे ।

सन् २०१४ को विश्वकपपछि चिलीले दुई कोपा अमेरिका प्रतियोगिता जित्यो । उसले सन् २०१५ र २०१६ मा लगातार अर्जेन्टिना जस्तो बलियो टोलीलाई फाइनलमा हराएको थियो । चिलीसँग हारेपछि लियोनेल मेस्सी सन् २०१६ मा
संन्यास घोषणा गरेका थिए । त्यसपछि राष्ट्रपतिले गुहार गरेपछि उनी टीममा फर्किए ।

चिली सन् २०१७ मा क्यामरून र पोर्चुगल जस्तो बलियो टोलीलाई हराएर कन्फेडेरेसन कपको फाइनलमा पुगेको थियो । त्यहाँ उसले जर्मनीसँग हार्नुपरेको थियो । नेदरल्यान्ड्सको टीम पनि विश्वकपमा देखिने छैन । सन् २००६ मा प्रिक्वार्टरफाइनल, सन् २०१० मा फाइनल र सन् २०१४ मा सेमिफाइनल खेल्ने टीमले यसपाली क्वालिफाइ गर्न सकेन ।

नेदरल्यान्ड्स टीममा आर्जेन रोबेन र भ्यान पर्सी जस्ता स्टार खेलाडी छन् । विश्वकपमा उनीहरू नदेखिँदा प्रशंसकहरू निराश हुनेछन् । छनोट चरणमा तेस्रो नम्बरमा रहेको डच टीमका कप्तान आर्जेन रोबेनले सन् २०१७ मा हार बेहोरेपछि अन्तर्राष्ट्रिय फूटबलबाट बिदाइ मागेका थिए ।

सन् १९९० देखि लगातार सबै विश्वकपमा भाग लिएको अमेरिकी टोली पनि यसपाली छनोट हुन सकेन । क्वालिफाइङ चरणमा अन्तिम खेलमा त्रिनिदाद र टोबेगोविरुद्ध जीत र कमसेकम ड्र गर्नुपर्थ्यो तर टीम २–१ ले हा–यो । यो हारपछि टीमका कोच ब्रुस एरेनाले राजीनामा दिएका थिए ।

सन् १९७० मा मोरक्को र बुल्गेरिया जस्तो टीमलाई हराएर क्वार्टरफाइनल खेल्ने पेरुको टोली ३६ वर्षपछि विश्वकप खेल्दैछ । पेरुका व्यवस्थापक रिकार्डो गरेसाले फेब्रुअरी २०१५ मा टीमको जिम्मेवारी सम्हालेका थिए । आफ्नो रेखदेखमा टीमलाई उनले कोपा अमेरिकाको सेमिफाइनलमा पु–याए ।

लागूऔषध काण्डमा फसेका पेरुका ३४ वर्षीय स्टार फूटबलर पाउलो ग्वेरेरो टीममा फर्केका छन् ।छनोटमा पेरुले ढिलो शुरूआत गरेको थियो । पहिलो सात खेलमा उसले जम्मा चार अंक पाएको थियो । तर उसले प्याराग्वे र इक्वेडरलाई हरायो अनि कोलम्बियासँग ड्र खेलेर स्थिति बलियो बनायो । पछि उसले न्युजील्यान्डलाई २–० ले हराएर विश्वकपमा छनोट भयो । एजेन्सी

तपाईको प्रतिक्रिया
Road Show Real State