आयोगबाट वैधानिकता पाएसँगै, नियमावली टुंगो लगाउँदै नेकपा


Share This


नेपालबहस संवाददाता    93 Views

काठमाडौं । निर्वाचन आयोगबाट वैधानिकता पाएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विधानअनुसार नियमावली टुंगो लगाउने तयारी थालेको छ ।

यसअघि नै केन्द्रीय समिति बैठकले १५ दिनभित्र नियमावली बनाउने गरी महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाएको थियो । समितिले नियमावली मस्यौदा तयार गरी विधानअनुसार टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिएको छ ।

‘विधान र नियमावलीमा रहेका विषयको अन्तिम टुंगो लगाउन अध्यक्षद्वयले अध्ययन गरिरहेको हुन्छ,’ कार्यदल सदस्य वेदुराम भुसालले भने, ‘उनहरूले अध्ययन गरेपछि सचिवालयले अनुमोदन गर्नेछ ।’ पार्टीका गतिविधि र बैठक कसरी सञ्चालन गर्नेलगायत विषय नियमावलीमा रहनेछन् ।

सातवटै प्रदेश र प्रवासमा एकीकरणको टुंगो लगाउन कार्यादेशसहितका कार्यदल पनि गठन भएका छन् । ती कार्यदलले काम गरिरहेको नेकपाले जनाएको छ । त्यस्तै जनवर्गीय संगठनहरूको एकीकरणका लागि छुट्टाछुट्टै कार्यदल बनाइएको छ ।

कार्यदलमा यसअघि दुवै पार्टीका सम्बन्धित प्रदेश हेर्ने इन्चार्ज र जनवर्गीय संगठनका पूर्वसंयोजक छन् । उनीहरूलाई पनि १५ दिनको समय दिइएको छ । केन्द्रमा दुई अध्यक्ष रहे पनि तल्लो तह र जनवर्गीय संगठनको एकता गर्दा यो विधि अपनाइनेछैन । तल्लो तह र जनवर्गीय संगठनमा अध्यक्ष, सचिव र सदस्यहरू रहनेछन् । ती समितिमा को–को रहने भन्ने पनि सम्बन्धित कार्यदलले नै टुंगो लगाउनेछन् ।

आयोगले दियो दर्ता प्रमाणपत्र
तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई निर्वाचन आयोगले बिहीबार दल दर्ता प्रमाणपत्र दिएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले नेकपा महासचिव विष्णु पौडेललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

वैधानिक रूपमै एक भएपछि नेकपाका नेताहरूले यसलाई ऐतिहासिक भनेका छन् । ‘कम्युनिस्ट पार्टीबीच एकताको ऐतिहासिक काम भएको छ,’ दल दर्ताको प्रमाणपत्र पाएपछि आयोग परिसरमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले भने । अब एमाले र माओवादी केन्द्र संसद्मा पनि नेकपाका रूपमा रहनेछन् । दुई दलबीच गत जेठ ३ गते एकता भएको थियो । कान्तिपुर दैनिक बाट साभार

तपाईको प्रतिक्रिया