प्रतिनिधिसभा नियमावली ‘२०७५’ बहुमतले पारित


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ लाई बहुमतले पारित गरेको छ । नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रतिनिधिसभा नियमावली, २०७५’ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।

संसद्को बैठक कार्यसञ्चालनलाई नियमित र व्यवस्थित गर्न उक्त नियमावली बनाइएको छ । मस्यौदा प्रतिवेदनमाथिको छलफलमा संशोधनकर्ता सांसदहरु दुर्गा पौडेल, यशोदा गुरुङ सुवेदी, पूर्णाकुमारी सुवेदी, नरबहादुर धामी, मीनेन्द्रप्रसाद रिजालले आ–आफ्नो संशोधनका सम्बन्धमा धारणा राख्दै सहमतिमै नियमावली पारित गर्न सुझाव दिएका थिए । मस्यौदामाथि १५ जना सांसदले छवटा संशोधन हालेका थिए ।

यसअघि सभापति कृष्णभक्त पोख्रेलले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ को मस्यौदा प्रतिवेदन प्रस्तुत गर्दै फौजदारी अभियोग लागेका सांसदको हैसियत, सेवा सुविधा, अधिकार र उन्मुक्ति नपाउने हुँदा निलम्बनको प्रश्नमा अहिले थप बहस गर्न आवश्यक नरहेको टिप्पणी गरे ।

सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन संसद्मा महिनामा दुईपटक प्रधानमन्त्रीसँग सांसदले सिधा प्रश्न गर्ने र प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्ने नियमावलीमा व्यवस्था गरिएको बताउँदै सभापति पोखरेलले शून्य र विशेष समयमा सांसदले उठाएका विषयलाई बाध्यात्मकरुपमा सुनुवाइ हुने व्यवस्था गरिएको बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State