असार १५ भित्र बजेट कार्यान्वयनको योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयनका लागि आउँदो असार १५ गतेभित्र बुँदागत कार्ययोजना पेश गर्न सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मन्त्री र सचिवहरुलाई बोलाई उनले नयाँ आर्थिक वर्षको पहिलो दिन (साउन १ गते) देखि नै पूर्णरुपमा बजेटको कार्यक्रम कार्यान्वयन हुने तयारी गर्न निर्देशन दिएका हुन् । बैठकमा सहभागी अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार प्रधानमन्त्री ओलीले नीति, कार्यक्रम र बजेट कार्यान्वयनका लागि नवप्रवर्तक हिसाबले आवश्यक संरचना, कानून, मुख्य र सहायक निकाय, अनुगमन र उपलब्धिको परिसूचक तयार गर्न निर्देशन दिएका थिए ।

यसरी तयार हुने योजनामा आगामी असार २५ गते प्रधानमन्त्रीसहितको बैठकमा प्रस्तुति गर्न पनि निर्देशन दिइएको छ । संघीय संसद्मा गत जेठ १६ गते बजेट प्रस्तुत भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार भ्रष्टाचारमा शून्य सहनशीलताको नीति दोहो¥याउने प्रतिवद्धता प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन् ।

उनले विभिन्न नियुक्ति, सरुवा र बढुवामा योग्यता र क्षमताबाहेक अरु चिज बोकेर कुद्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गर्दै चाकरी गर्नुको कुनै अर्थ नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले संघीयताबारे देखिएका कतिपय असन्तुष्टिलाई काम गरेर देखाएर जवाफ दिनुपर्ने भन्दै काठमाडौँलगायत शहरमा शहरको अनुभूति हुने गरी कार्ययोजना ल्याउनसमेत निर्देशन दिएका थिए ।

बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले सरकारको बजेट कार्यान्वयनको योजना ल्याउन र त्यसलाई सफल बनाउन कर्मचारी वर्ग दत्तचित्त भएर लाग्ने अठोट व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State