संघीय संसदको संयुक्त बैठक असार ३ गतेसम्मका लागि स्थगित


Share This


नेपालबहस संवाददाता    106 Views

काठमाडौं । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित भएको छ । महासचिव मनोहरप्रसाद भट्टराईले अर्को सूचना जारी नभएसम्मका लागि संघीय संसदको संयुक्त बैठक विशेष कारण स्थगित भएको बताए।

स्रोतका अनुसार संघीय संसदको संयुक्त बैठक आउँदो असार ३ गते बस्नेछ । तर, प्रतिनिधिसभाको नियमित बैठक भने जेठ ३० गते बुधबार बस्नेछ ।

सोमबार संघीय संसदको दुईवटै सदनको बैठक बसेर संयुक्त बैठक सञ्चालन सम्बन्धी कार्यविधि पारित गर्ने कार्यसूची रहेको थियो थियो । तर, संयुक्त बैठकका विषयमा प्रतिनिधिसभामा कुनै जानकारी नगराइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कार्य व्यवस्था परामर्श समितिको बैठकमा कुरा उठाएपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गर्ने सहमति गरेका थिए ।

नियमावलीमा समस्या आउँदा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि संसद् बैठक स्थगित भएको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट संसद्को नियमावली बहुमतले पारित भइसकेको छ । फौजदारी अभियोग लागेका सांसद थुनामा रहे पनि निलम्वन नहुने व्यवस्थासहित नियमावली पारित भएकोमा विरोध भइरहेको छ ।

संयुक्त बैठकबाट विधेयक पारित भएपछि साझा समिति गठनका लागि बाटो खुल्ने थियो । संसदीय सुनुवाइ र अनुगमन तथा मूल्यांकन विशेष समिति साझा समितिका रुपमा छन् । त्यस्तै, महाअभियोग समिति दुवै सदनमा हुने समिति हो ।

संघीय संसदमा कुल १६ वटा समिति छन् । संसदीय समिति नहुदाँ संवैधानिक निकायमा सिफारिसको काम रोकिएको छ ।

तपाईको प्रतिक्रिया