रुस विश्वकपको शुरुमै रोनाल्डोले मेस्सीलाई पछि पारे


Share This


नेपालबहस संवाददाता    135 Views

विश्व फुटबलका अहिलेका सुपरस्टार क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबीच तुलना हुन कहिल्यै छाडिदैन । रुस विश्वकपमा पनि यी दुई विश्व उत्कृष्ट खेलाडीको भिडन्त चलिरहेको छ ।

तर आफ्ना पहिला खेलहरुमा रोनाल्डोले मेस्सीलाई पछि पारेका छन् । रोनाल्डोले शुक्रबार राती स्पेनजस्तो बलियो टिमविरुद्ध ह्याटिक गरेर पोर्चुगललाई रुस विश्वकपको उपाधि दाबेदार बनाए ।

तर त्यसको २४ घण्टा नबित्दै पहिला खेलमा अर्जेन्टिनाका मेस्सीले भने पाएको पेनाल्टीमा पनि गोल गर्न सकेनन । स्पेनभन्दा कमजोर मानिएको आइसल्याण्डसँग पनि अर्जेटिनाले एक गोल मात्रै गर्न सक्यो । त्यसमा मेस्सीले गोल त परै जाओस । पाएको दुर्लभ पेनाल्टी पनि खेर फाले ।

दुबैको बराबरी, तर गोलमा को अघि ?

रोनाल्डोले स्टारहरुले भरिएको स्पेनविरुद्ध भने व्यक्तिगत रुपमा तीन गोल हाने । झण्डै हारिसकेको खेलमा पनि उनले फ्रिकिकमार्फत पोर्चुगललाई शानदार शुरुवात दिलाउन सफल भए । भलै खेल तीन तीन गोलको बराबरीमै सकियो ।

गत विश्वकपमा समूह चरणबाटै बाहिरिएको पोर्चुगल युरोकप च्याम्पियन भएर रुस विश्वकपको उपाधि दाबेदारका रुपमा उभिएको छ ।

तर गत विश्वकपमा उपविजेता बनेपनि कोपा अमेरिकाको फाइनलमा चिलिविरुद्ध पेनाल्टीमै चुकेपछि सन्यासको घोषणा फिर्ता लिएर मेस्सीले धौ धौ अर्जेन्टिनालाई रुस विश्वकपमा त पुर्याए । विश्वकप उपाधिका लागि फाइनलसम्म पुग्न निकै सघंर्ष गर्नुपर्ने देखिन्छ ।

दुबै जनाले देशका लागि रुस विश्वकपमा एक एक अंक बटुले पनि गोल र खेल प्रदर्शनमा मेस्सी भन्दा रोनाल्डो अघि देखिएका छन् । तर आइसल्याण्डसँग एक एक गोलको बराबरी खेलेका मेस्सी गोल बिहिन हुनु अर्जेन्टिनाका लागि ठूलो धक्का हो ।

कसले आफ्नो देशलाई विश्वकप जिताउन सक्छ ?

पाँच पाँच पटकसम्म फिफा बर्ष खेलाडीका रुपमा बेलुन डेओर पाएका मेस्सी र रोनाल्डोकै भरमा अर्जेन्टिना र पोर्चुगलले रुस विश्वकप खेलिरहेका छन् । अब हेर्न बाँकी छ, अर्को बर्षको फिफा बर्ष खेलाडीको बेलुन डेओर जित्न रुसमा कसले आफ्नो देशलाई विश्वकप टफी जिताउन सक्छ भनेर ।

गोलमा पनि रोनाल्डो अघि 

विश्वकपमा यसअघि तीन गोल गरेका रोनाल्डोले गएराती ह्याटिक गर्दा गोलसंख्या ६ पुर्याएका छन् । तर मेस्सी ३ गोलमै सिमित छन् । विश्वकपमा गोलमा पनि रोनाल्डोले पछि पारेका छन् ।

उसो त रोनाल्डोले रुस विश्वकपमा पहिलो ह्याटिक गर्दा लगातार चार विश्वकपमा गोल गर्ने विश्वकै चौथो खेलाडी बनेका छन् । र उनले देशका लागि अहिलेसम्म ८४ गोल गर्दा मेस्सीले भने ६४ गोल मात्रै गरेका छन् । मेस्सीलाई भारतका कप्तान सुनिल क्षेत्रीले पनि बराबरी गरेका छन् ।

अहिले खेलिरहेका खेलाडीमा देशका लागि सबैभन्दा धेरै गोल गर्ने किर्तिमान पनि रोनाल्डोकै नाममा छ ।

स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार मेस्सी र रियल मडिडका रोनाल्डोले क्लब फुटबलमा जित्न बाँकी अब केही छैन् । तर दुबै जनाले देशका लागि विश्वकप जित्न सकेका छैनन् । रोनाल्डोले युरोकप जितेपनि मेस्सी तीन तीन पटक फाइनल पुगेर कोपा अमेरिका जित्न सकेका छैनन ।

तपाईको प्रतिक्रिया