सूदुरपश्चिमका जिल्लाहरुमा शान्तिपूर्ण मतदान जारी, ११३ वर्षिया वृद्धाले गरे मतदान


Share This

नेपालबहस संवाददाता    

१४ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन्।

आज बिहान ८ः०७ बजे प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गरेका हुन् । प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपछि प्रधानमन्त्री देउवाले सङ्क्षिप्त प्रतिक्रिया दिँदै गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भइरहेको बताए । स्थानीय सरकार निर्माण भइसकेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले मतदान गरेको असिग्राम उच्च माविको मतदान केन्द्र सदरमुकामदेखि २१ किमी दक्षिण पूर्वमा रहेको छ । उनले स्थानीय बासिन्दासँग कुरा गर्दै मतदाता नामावली त्यहीँ भएकाले भोट हाल्न पुगेको बताए । “निर्वाचनलाई उत्सवका रुपमा लिनुपर्छ, त्यसैले मतदानमा सबैजना सहभागी हुनुपर्छ,” प्रधानमन्त्री देउवाले मतदान गरेर फर्कने क्रममा भने ।

प्रधानमन्त्री देउवाले असिग्राम उच्च माविबाटै कक्षा ५ सम्म अध्ययन गरेका हुन् । उनकै पहलमा पछि त्यहाँ माध्यमिक तह स्थापना भएको हो । प्रधानमन्त्री देउवा अहिले कैलालीको धनगढी फर्कंदै छन् । उनी बिहीबार मात्रै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

दोस्रो चरणमा एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका, दुई सय १५ गाउँपालिकामा गरी १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् । तीमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
भीमदत्तनगर, १४ असार । दुई दशकपछि आज हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सुदूरपश्चिमभर शान्तिपूर्ण वातावरणमा भइरहेको छ ।

बिहान भएको वर्षाका कारण केहीबेर कैलाली र कञ्चनपुरमा सामान्य प्रभावित बने पनि मतदान गर्न हौसिएका मतदाता पानीको प्रवाह नगरी मतदानस्थल पुगेका छन् । त्यहाँका सात पहाडी जिल्लामा पनि शान्तिपूर्ण वातारणमा मतदान भइरहेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले बताए ।

“सबै जिल्लामा शान्तिपूर्ण माहोलमा मतदान भइरहेको छ”, उनले भने “मतदानस्थलमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।”

सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा सक्रिय रहेका विभिन्न राजनीतिक दलका नेताले समेत आ–आफ्नो मतदानस्थल पुगेर मतदान गरेका छन् । सुदूरपश्चिमको पहाडी जिल्ला अछाम पुगेर नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मतदान गरेका छन् । उनले साँफेबगर नगरपालिका–६ स्थित चन्द्रोदय आधारभूत माविमा रहेको मतदानस्थल पुगेर मतदान गरे । उनले सो मतदान केन्द्रमा पहिलो मतदान गरेको युवा सङ्घ नेपालका केन्द्रीय सचिब वचनबहादुर सिंहले जानकारी दिए ।

त्यसैगरी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुलाको महाकाली नगरपालिका–५ मा रहेको अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय परिसरमा रहेको मदतान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित बैजनाथ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आज बिहान मतदान गर्नुभएको छ भने नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले भीमदत्तनगरपालिका–२ उल्टाखामस्थित सरस्वती माविमा पुगेर मतदान गरेका छन् ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लेखराज भट्टले कैलालीको अत्तरिया नगरपालिका–१ स्थित घण्टेश्वर माविमा रहेको मतदानस्थलमा पुगेर मतदान गरेका छन् ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्त चन्दले बैतडीको सुर्नया गाउँपालिका–२ वासुदेव माविमा पुगेर मतदान गरेको राप्रपाका नेता हेमबाबु लेखकले बताए ।

एक सय तेह्रवर्षीयाबाट मतदान
बैतडी जिल्लाको सुरनया गाउँपालिकाको भूमिराज निमावि मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीया पशुपति साउदले मतदान गरेका छन् । त्यसैगरी दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाकी १०५ वर्षीया कलशी भट्टले भूमिराज निमावि, तौकी मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार