बाजागाजासहित धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न


Share This

नेपालबहस संवाददाता    

१६ असार, काठमाडौं । कृषि मन्त्रालय, कृषि विभाग हरिहर भवन १४औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मूल समारोह समितिले हिजो भक्तपुरमा धान दिवस मनाएको छ । अधिकांश कृषी पेशामा लागेका मानिसहरु वस्ने हाम्रो देश नेपालमा आसार १५ लाई दही चिउरा खाने दिन भनेर पनि चिनिन्छ । हरेक वर्ष झैँ हिजो हरेकका घर घरमा दही चिउराको चर्चा भएको थियो ।

चाँगुनारायण नगरपालिका–२ झौखेलमा आयोजना भएको धान दिवसमा स्थानीय टेकबहादुर लाखाजुको दुई रोपनी जग्गामा सामूहिक रुपमा धान रोपेर धान दिवस मनाइएको हो ।

बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न बाजागाजा र नाचगान गर्दै मनाइएको धान दिवसमा धान दिवससँग सम्बन्धित रहेर उपत्यकाव्यापी लोकगीत प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा ललितपुर सुनाकोठीका भगवती कृषक तथा महिला समूह प्रथम, लालुपाते कृषक तथा महिला सहकारी संस्था लिमिटेड दोस्रो र काठमाडौं नागार्जुनको कालीदेवी कृषक तथा महिला समूह तृतीय भएको थिए ।

कार्यक्रममा किसान आयोगका सदस्य डा उदयचन्द्र ठाकुरले प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय हुने प्रतियोगी संस्थालाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसअवसरमा ठाकुरले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनु आवश्यक रहेको भन्दै सरकारले त्यसका लागि हरेक वर्ष नयाँ कार्यक्रम ल्याएको बताए ।

सरकारले कृषिमा लगानी थप गर्दै आएको बताउँदै उनले कृषिलाई आधुनिक प्रविधियुक्त र प्राङ्गारिक कृषि उत्पादनतर्फ कृषकलाई आकर्षित गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम मिश्र, उपप्रमुख विना बास्तोला लगायतले नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारको लगानीसँगै किसानको चाहना पनि बढ्नुपर्नेमा जोड दिए । खेतलाई बाँझो राख्ने प्रचलन बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै उनीहरुले कृषिमा कृषकको लगाव घट्दै गएको बताए ।

मानो रोपेर मुरी होइन, अब टनका टन उत्पादन
त्यसैगरी हिजो चितवनको सौराहामा आयोजना भएको १४ औँ धान दिवस तथा रोपाइ महोत्सवका सहभागीले मानो रोपेर मुरी होइन, अब टनका टन उत्पादन गर्नुपर्नेमा जोड दिए ।

जिल्ला कृषि विकास कर्याालय चितवन, रत्ननगर नगरपालिका, क्षेत्रीय होटल सङ्घ, क्षेत्रीय रेवान तथा साना किसान कृषि सहकारीको मुख्य आयोजनामा भएको सो महोत्सवमा उनीहरुले सिँचाइको पर्याप्तता र यान्त्रीकरण भएमा नेपालमा रहेका खेती योग्य जमिनले नै यहाँ अपुग धान उत्पादन गर्न सकिने बताए ।

सो अवसरमा कृषि मन्त्रालयका सहसचिव अच्यूत ढकालले सन् २००४ बाट सुरु भएको धान दिवसले धानखेतीको महत्व प्रष्ट्याउनमा ठूलो सहयोग गरेको बताए ।

धानका लागि विशिष्टिकृत क्षेत्र निर्माण गरी सरकार अघि बढेको बताउँदै उनले भने, “अब मानो रोपेर मुरी होइन, टनका टन उत्पादन गर्नेतर्फ लाग्नुपर्छ ।”

पर्यटन व्यवसायी सुमन घिमिरे पर्यटन र कृषिलाई सँगसँगै लैजानुपर्ने आवश्यकतामाथि जोड दिए।

रोपाई महोत्सवमा हिलो छ्यापाछ्याप गरेर दही चिउरा खाई असार १५ मा स्थानियहरु रमाएका थिए । बेठी झैं बाजा घन्किएको थियो । किसानसँगै आएका अतिथिहरुले पनि धान रोपे, गोरु साय, अनि हिलो खेलेर रमाए । अनि दौड प्रतियोगितामा रमाए । दौडमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट नै प्रथम भए ।

जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधिर श्रेष्ठले धानका लागि चितवन नेपालकै उर्वर भूमि भएको बताउँदै चितवनमा कठार, कुमरोज र खैरहनीको ६०० विगाहा क्षेत्रलाई समेटेर धान व्लक निर्माण गरी खेती भइरहेको जानकारी दिए ।

एक लाख २० हजार मेट्रिकटन धान उत्पादन हुने चितवनमा ८० हजार मेट्रिकटन मात्रै धान खपत हुने कृषि विकास कार्यालयको तथ्यङ्कमा उल्लेख छ ।

महोत्सवमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टसहित सरकारी अधिकारी, किसान र पर्यटन व्यवसायीको सहभागिता थियो ।

पोखरामा पर्यटक पनि धान दिवसमा रमाए

राष्ट्रिय धान दिवसको उपलक्ष्यमा अखिल नेपाल किसान महासङ्घ कास्कीद्वारा हिजो माछापुच्छ्रे गाउँपालिकाका– ३ भलाबोट फाँटमा असारे महोत्सवको सम्पन्न भएको छ ।

अखिल नेपाल किसान महासङ्घका केन्द्रिय उपाध्यक्ष शारदा सुवेदीले कृषि विकासका लागि किसानलाई अनुदान, बिमा, सिँचाइ, विद्युत् र आधुनिक प्रविधिलगायतमा आवश्यक सुविधा उपलव्ध गराउन महासङ्घले राज्यसँग माग गर्दै आएको जानकारी दिए ।

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले वास्तविक कृषकलाई राज्यले प्रोत्साहन गर्दै यसतर्फ रुचि जगाउनुपर्नेमा जोड दिए ।

अखिल नेपाल किसान महासङ्घ जिल्ला समन्वय समितिका संयोजक चुडामणि बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासङ्घका प्रदेश संयोजक पुन्य पौडेल, कार्यक्रम संयोजक अर्जुन पोखरेल, सचिव रघुनाथ भण्डारी लगायतले कृषि क्षेत्रको विकासका लागि राज्य गर्नुपर्ने कार्यको विविध पक्षमाथि प्रकाश पारे । रोपाई महोत्सव रविप्रसाद पोखरेलको १० रोपनी क्षेत्रफलको जग्गामा भएको थियो ।

त्यस्तै पोखरा पर्यटन परिषदको आयोजनामा ‘पोखरा सबै मौषमका लागि’ भन्ने नाराका साथ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ पक्कीपुल नजिकै ठूलीफाँटस्थित गोविन्दबहादुर खड्काको ८ रोपनी क्षेत्रफलमा भएको रोपाईं महोत्सवमा पर्यटक रमाएका हुन् ।

महोत्सवमा करीब ३ सय ५० विदेशीसहित १५ हजार आन्तरिक पर्यटक सहभागी भएको महोत्सव संयोजक नवराज अधिकारीले बताए ।

रोपाईं गर्ने जमिन पहिल्यै हिलो बनाएर राखिएको थियो । जसमा हलगोरु नारेर जोतेको ठाउँमा साउने लगाएर रोप्नको लागि तयार पारियो । अनि कोही बाउसे बने त कोही जोतारे, कसैले साउने गरे त कोही रोपारे । गाउँको झल्को दिनेगरी भएको कार्यक्रममा आपसमा हिलो छ्यापाछ्याप गर्दै रमाईलो समेत गरे ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार