रुसलाई पेनाल्टीमा स्तब्ध पार्दै क्रोएसिया पुग्यो विश्वकपको सेमीफाइनलमा


Share This


नेपालबहस संवाददाता    238 Views

काठमाडौँ, २४ असार । अतिरिक्त समयमा गोल गरेर खेल बराबरीमा ल्याएका मारियो फर्नान्डेज पेनाल्टीमा चुकेपछि आयोजक रसिया विश्वकपबाट बाहिरिएको छ ।

पहिलो पेनाल्टीमा फेडोर स्मोलोभ चुकेपछि तेश्रो पेनाल्टी पनि रसियाले मिस गरेको थियो । जसमा मारियो आफै चुकेका हुन् । उनले अतिरिक्त खेल सकिन ५ मिनेट बाँकी छदा हेड गोल गरेर क्रोएसियाको अग्रतालाई बराबरीमा ल्याएका थिए ।

निर्धारित ९० मिनेटमा एक एक र थपिएको ३० मिनेटमा दुई दुई गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा आयोजक रसियालाई घरमै स्तब्ध पार्दै क्रोएसिया विश्वकप फुटबलको सेमीफाइनल पुगेको हो ।

क्रोएसियाका लागि माटियो कोभासिक बाहेक सबैले गोल गरे । अन्तिम निर्णायक पेनाल्टीमा इभान राकिटिक सफल भएपछि क्रोएसियाले सेमीफाइनलमा इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो ।

यसअघि निर्धारित ९० मिनेटका खेलमा पहिलो अग्रता रुसले लिएको थियो । उसका लागि स्टार फरवार्ड डेनिस चेरीशेभले ३१ औँ मिनेटमा गोल गरेका थिए । तर त्यसको ८ मिनेटपछि नै आन्द्रेज क्रमारिकले क्रोएसियाका लागि बराबरी गोल फर्काए ।

दोश्रो हाफमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलियो । जसमा फेरी क्रोएसियाले १०० औँ मिनेटमा अग्रता लिन सफल भयो । उसका लागि डोमागोज भिडाले निर्णायक हेड गोल गरे ।

तर उनको गोलको खुशी पनि धेरै बेर टिक्न सकेन । खेल सकिन ५ मिनेट बाँकी छदा मारियोले हेड गोल नै फर्काएर खेल पेनाल्टी सुटआउटमा धकेलेका थिए ।

तर स्पेनलाई घर फर्काएको मनोबललाई रसियाले निरन्तरता दिन सकेन । घरेलु दर्शकलाई स्तब्ध पार्दै क्रोएसियालाई ४-३ नतिजा सुम्पियो ।

क्रोएसिया भने दुई वटै पेनाल्टी सुटआउटमा भाग्यमानी साबित भएको छ । उसले यसअघि अन्तिम १६ मा डेनमार्कलाई पेनाल्टीमै हराएको थियो । तर रुसले भने इतिहास रच्ने पेनाल्टीलाई सदुपयोग गर्न सकेन ।

तपाईको प्रतिक्रिया