बिमस्टेक सम्मेलन तयारीमा जुट्दै नेपाल, आगामी भदौमा शिखर सम्मेलन हुने


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । परराष्ट्र मन्त्रालयले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास ‘बिमस्टेक’ को चौथो शिखर सम्मेलनको तयारीमा नेपाल जुटेको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ शिखर सम्मेलनमा जस्तै तयारी गर्नुपर्ने भएकाले परराष्ट्र मन्त्रालयले विभिन्न समिति गठन गरेर काम अघि बढाउन प्रधानमन्त्री कार्यालयलाई सुझाएको छ । यद्यपि ती समिति गठन हुन बाँकी छ ।

आगामी भदौमा शिखर सम्मेलन हुने भएकाले परराष्ट्रले तयारी अघि बढाएको हो । २०७३ माघमा काठमाडौंमा आयोजित बिमस्टेक उच्च अधिकारीको १७ औं बैठकमा नेपालले शिखर सम्मेलन भदौमा गर्न प्रस्ताव गरेको थियो । जेठ १९ को मन्त्रिपरिषद्ले भदौ १४ र १५ वा २१ र २२ मा शिखर सम्मेलन गर्ने प्रस्ताव पारित गरेको थियो ।

त्यसअनुरूप अधिकांश सदस्य मुलुकले भदौ १४ र १५ गतेलाई सहमति दिइसकेकाले पनि त्यही तिथिमा शिखर सम्मेलन तय भएको छ । एक सदस्य मुलुकको प्रतिबद्धता पर्खनुपरेकाले केही ढिलो भए पनि आन्तरिक तयारी भइरहेको परराष्ट्रका अधिकारीले बताए ।

सन् २०१६ अक्टोबरमा भारतको गोवामा भएको बिमस्टेक लिडर्स रिट्रिटमा समेत चौथो सम्मेलन नेपालले छिटो गर्ने सहमति भएको थियो । त्यही वर्ष गर्ने भनिए पनि नेपालको आन्तरिक कारणले पछि सारिएको हो । सन् २०१४ मा बिमस्टेकको अध्यक्ष चुनिए पनि त्यसयता नेपालले मन्त्रीस्तरीय बैठक मात्र आयोजना गरेको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिमस्टेक बैठक आयोजनाको तयारीमा अघि बढेको बताए । नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य रहेको बिमस्टेकका राष्ट्र एवं सरकार प्रमुखको उपस्थिति हुनाले यसको तयारी पनि त्यही ढंगले हुनेछ । सम्मेलनले पछिल्लो समय सडक सञ्जाल, व्यापार, पर्यटन, लगानी, ऊर्जा, प्रविधि आदानप्रदान, प्राकृतिक प्रकोपलगायत एजेन्डामा छलफल गर्दै सम्बोधनमा जोड दिने गरी काम अघि बढेको छ ।

बैठकमा बिमस्टेकका लागि विभिन्न ६ क्षेत्रमा अध्ययन गर्न विज्ञस्तरको कार्यदल गठन गरेर काम अघि बढाउने सहमति भएको थियो । यस्तै बिमस्टेक स्थापनाको २० वर्ष पुगेको उपलक्ष्यमा हरेक सदस्य मुलुकले विभिन्न कार्यक्रम बनाउने निर्णय भएको छ । बिमस्टेकले स्थापनाको दिन जुन ६ मा संस्थाको लोगो अंकित हुलाक टिकट प्रचलनमा ल्याइसकेको छ । अहिले सम्मेलनको लोगो तयार गर्ने विषयमा छलफल भएको छ ।

बिमस्टेक स्थापना सन् १९९७ मा भएको थियो । समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्त रूपमा हासिल गर्ने उद्देश्यले स्थापित बिमस्टेकले आगामी शिखर सम्मेलनपछि थप गति लिने विश्वास नेपालको छ । सार्कको तीनवटा शिखर सम्मेलन आयोजना गरेको नेपालले बिमस्टेक शिखर सम्मेलन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने विश्वास सदस्य राष्ट्रहरूले लिएका छन् ।

नेपालले बिमस्टेकलाई सार्कको विकल्पका रूपमा नभई सार्क र दक्षिणपूर्वी एसियाली मुलुकको संगठन ‘आसियान’ को पुलका रूपमा प्रस्तुत गर्दै आएको छ । विकासका निम्ति दूरदृष्टियुक्त कार्ययोजना चाहिन्छ भन्दै नेपालले साझा उद्देश्य र लक्ष्य प्राप्तिका निम्ति सहयोग, साझेदारी र सहकार्यको मार्गमा गम्भीर रूपमा लाग्न सबै सदस्य मुलुकलाई आग्रह गर्दै आएको छ ।

शिखर सम्मेलनमा अन्तरदेशीय अपराधको जोखिम, आतंकवाद र विध्वंसको खतरा, चरमपन्थी अतिवाद, हातहतियार र लागूऔषध ओसारपसारलगायत विषयमा छलफल हुने बताइएको छ । बिमस्टेक हेर्ने महाशाखा प्रमुख यतिबेला श्रीलंका भ्रमणमा रहेकाले यसको केही प्रक्रियामा निर्णय हुन नपाएको एक अधिकारीले बताए ।

कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया