जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि राष्ट्रियसभामा बहस


Share This


नेपालबहस संवाददाता    95 Views

काठमाडौं । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय सभाको आजको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस्’ भनी राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भइरहेको छ ।

उक्त प्रस्तावको समर्थन गर्दै काँग्रेसका रमेशजंग रायमाझीले सदनमा सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहे पनि मुलुकको विकास र समृद्धिका लागि आवश्यकता र औचित्यका आधारमा एजेण्डालाई प्राथमिकता दिएर कार्यान्वयनमा लैजानुपर्ने बताए ।

सत्तापक्ष नेकपाका सांसद परशुराम मेघी गुरुङले डा केसीको माग पूरा भइसकेको छ, राज्यको ध्यानाकर्षण गराउने प्रयास सफल भइसकेकाले थप छलफलको औचित्य नरहेको धारणा राखेका छन् ।

सांसद प्रकाश पन्थले संघीयताको मर्म र भावना तथा दूरदराजका जनताले राजधानीको जस्तो स्वास्थ्य शिक्षा र उपचार पाउनुपर्छ कि पर्दैन भनी प्रश्न गर्दै डा केसीले शान्तिपूर्ण रुपमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिलाई हटाउन गरेको आन्दोलनलाई अन्यथा रुपमा हेरिनु नहुने तर्क राखेका छन् ।

सांसद कालीबहादुर मल्लले सामान्यत डा केसीले उठाउनुभएको गलत नभए पनि अहिलेको आन्दोलनको विधि र बाटो छोडेर जनताको उपचारमा संलग्न हुने कुरा नै उचित रहेको टिप्पणी गरेका छन् ।

सांसद धनकुमारी खतिवडाले सरकार इमान्दार नभएकै कारण डा केसीले १५औँ पटक उही विषयमा अनशनमा बस्नु परेको घटना सुनाउँदै सरकार सम्झौता गर्छ तर कार्यान्वयन गर्दैन भन्ने घटनाका रुपमा यसलाई लिन सकिने बताइन् ।

सांसद जीवन बुढाले डा केसीले उठाएको मागलाई सम्बोधन गर्ने क्रममा सरकारले विधेयकलाई समयअनुकूल सुधार गरेर अघि बढाएको अवस्थामा अनशन बस्नुको औचित्य नरहेको टिप्पणी गरेका छन् ।
–––

तपाईको प्रतिक्रिया