नेकपाको सचिवालय बैठक : नियमावली अनुमोदन


Share This


नेपालबहस संवाददाता    156 Views

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठकले पार्टीको नियमावलीलाई अनुमोदन गरेको छ ।

कार्यदलले स्थायी समितिको सुझावसहित परिमार्जन गरेको नियमावलीलाई बुधबार बिहान बसेको पार्टी सचिवालय बैठकले अनुमोदन गरेको हो । सबै पार्टी कमिटी र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्य योजना बनाउन तत्काल सचिवालयको अर्को बैठक बोलाउने निर्णय पनि आजको बैठकले गरेको छ ।

पार्टीका सबै कमिटी र जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई तीव्रता दिने गरी नियमावलीमा आधारित भएर आवधिक कार्ययोजना तत्काल बनाउने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

पार्टीका नेताद्वय बामदेव गौतम र रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल रहेको कार्य दलले तयार पारेको नियमावली तत्काल प्रकाशन गरी सबै पार्टी कमिटीहरुमा पठाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।

नियमावलीमा दुई पार्टीको जनवर्गीय संगठनहरुको एकीकरण गर्दा एउटालाई अध्यक्ष र अर्को संगठनलाई सचिव दिनेगरी एकीकरण गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी प्रदेश संगठनको हकमा संयोजक र सचिव मात्रै पदाधिकारी रहने व्यवस्था गरिएको छ । दुवै कमिटीका केन्द्रिय सदस्यहरुलाई मिलान गरेर एकीकृत केन्द्रीय समिति बनाउने व्यवस्था गरिएको छ ।

जनवर्गीय संगठन र कमिटीहरुको एकीकरण गर्दा दुवै संगठनका नेताहरुको सुझावलाई मूल आधार बनाउने पनि नियमावलीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया