बल्ल चेल्सीले प्रशिक्षक कोन्टेलाई बर्खास्त गर्यो !


Share This


नेपालबहस संवाददाता    126 Views

काठमाडौँ, २९ असार । खेलाडीसँग तनावपूर्ण सम्बन्ध र निकै खस्किदो प्रदर्शनपछि इङ्लिस क्लब चेल्सीले प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ ।

यद्यपी उनी बर्खास्तीमा पर्ने निश्चित भएपनि क्लबले निर्णय गर्न ढिलाई गरेको थियो । खासगरी पछिल्ला दुईपटक चेल्सीलाई प्रिमियर लिगको उपाधि जिताएका फरवार्ड डियगो कोष्टासँगको तनावपूर्ण सम्बन्ध नै कोन्टेको चेल्सी बहिगर्मनको कारण बनेको हो ।

हुन त कोष्टा अहिले चेल्सीमा छैनन । उनी आफ्नो पुरानै स्पेनिस क्लब एट्लेटिको मडिड फर्किसकेका छन । तर सन्की स्वभावका कोष्टालाई क्लबबाट जबर्जस्ती हटाउन खलनायकी भूमिका खेलेको भन्दै प्रशिक्षक कोन्टेमाथि क्लबकै पदाधिकारी र फ्यानको आक्रोश थियो ।

अन्ततः उनी पनि बर्खास्तीमा परेका हुन् । डियगो कोष्टा बाहिरिएलगत्तै चेल्सी प्रिमियर लिगको ५ औँ स्थानमा झरेको थियो भने आउँदो सिजनको च्याम्प्यिन्स लिग खेल्ने अवसरबाट समेत बञ्चित भएको थियो ।

कोष्टाको ठाउँमा आएका रियलका अल्भारो मोराटोको प्रदर्शन राम्रो नहुनु र अरु खेलाडीको पनि कोन्टेसँगको सम्बन्ध बिग्रदै जानुले चेल्सीले प्रशिक्षकलाई बर्खास्त गर्ने निर्णयमा पुगेको हो ।

कोन्टे बर्खास्तीमा परेपछि चेल्सीले इटालियन प्रशिक्षक माउरिजियो सररीलाई प्रशिक्षक बनाउने योजना बनाएको छ । सररी अहिले नापोलीका प्रशिक्षक हुन ।

तपाईको प्रतिक्रिया