fbpx

प्रदेश नं ७ बाट झण्डै डेढ लाख नागरिक मजदुरीका लागि भारत


Share This

नेपालबहस संवाददाता    

भीमदत्तनगर । ३२ असार मुलुकमा रोजगारीका लागि युरोप र तेस्रो मुलुक आकर्षक गन्तव्य भए पनि प्रदेश नं ७ बाट झण्डै डेढ लाख नागरिक रोजगारीका लागि भारत गएका छन् ।

विसं २०६८ सालको जनगणनाअनुसार भारतमा रहेका प्रदेश नं ७ का दुई लाख ६६ हजार ६७३ नागरिकमध्ये करीब ७०।१४ प्रतिशत रोजगारीका लागि गएका हुन् ।

तथ्याङ्क कार्यालय कञ्चनपुर र कैलालीका निर्देशक यदुनाथ आचार्यका अनुसार प्रदेश नं ७ का नौवटै जिल्लाका बासिन्दाको रोजगारीको प्रमुख गन्तव्य नै भारत रहेको छ । तथ्याङ्कअनुसार प्रदेश नं ७ को कैलालीबाट ५६ हजार, कञ्चनपुरबाट ३१ हजार, अछामबाट २० हजार, दार्चुलाबाट पाँच हजार, बझाङबाट २१ हजार, डोटीबाट २२ हजार, डडेल्धुराबाट १० हजार, बैतडीबाट १९ हजार र बाजुराबाट सात हजार महिला तथा पुरुष रोजगारी गर्न भारत गएका छन् ।

एक लाख ४४ हजार पुरुष रोजगारीका लागि गएका छन् भने संस्थागत रोजगारीका लागि आठ हजारभन्दा बढी गएको तथ्याङ्क छ । प्रदेश नं ७ का ३५ हजार नागरिक भारतमा आश्रित रहेको तथ्याङ्क कार्यालयका निर्देशक आचार्यले बताएका छन् ।

कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बैतडीको झुलाघाट, दार्चुलाको जौलजिवी, दत्तु र खलंगालगायतका नाकाबाट बढी संख्यामा यहाँका बासिन्दा रोजगारीका लागि भारत जाने गर्छन् ।

“हामीले रोजगारीका नाममा भारत पलायन हुनेको तथ्यांक राखेका छैनौँ,” आचार्यले भन्नुभयो, “भारत गएर फर्किनेको तथ्याङ्कमात्रै संकलन गरिएको छ ।” भारत जानेमा ३५ हजार भन्दा बढी महिला रहेका छन् ।

भारत रोजगारीका लागि गएकाहरुको शैक्षिक अवस्था सामान्य रहेको समेत तथ्याङ्कमा देखिएको छ । भारत गएकामध्ये एक लाख चार हजार जनाले प्राथमिक तहसम्मको मात्रै अध्ययन गरेका छन् भने ३९ हजार निरक्षर र ३५ हजार जनाले अनौपचारिक शिक्षा लिएको देखिएको छ ।

दैनिक एक हजार ५०० देखि दुई हजार नागरिक गड्डाचौकी नाका भएर भारत जाने गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले बताउनुभयो । “कतिपयलाई भारतको कुन ठाउँमा रोजगारीका लागि जान लागेको भन्ने थाहा हुँदैन,” उहाँले भन्नुभयो, “यहाँबाट भारतको सिमला, दिल्ली, देहरादुन, बैंग्लोर, हरियाणा, पञ्जावलगायतका ठाउँमा बढी जाने गरेका छन् ।”

त्यसैगरी, प्रदेश नं ७ बाट पाँच हजारभन्दा बढी अध्ययनका लागि भारत गएको तथ्याङ्क छ । एक हजारभन्दा बढी भारतमा व्यवसाय गर्न गएका छन् । द्वन्द्वका समयमा दुई सय ७१ जना भारत पलायन भएका बताइएको छ ।

बर्खाको खेती सकेर भारत जान लागेका बेल्डाँडी रतनपुरका राजबहादुर सिंह आफू रोजगारीका लागि लामो समय भारत जाने गरेको बताउछन् । “यहाँ त्यत्तिक्कै बसेर के गर्नु”, उनले भने , “तेस्रो मुलुक जान सक्ने आर्थिक अवस्था छैन ।”

सिंहसँगै भारतको सिमलामा स्याउ टिप्न जान लाग्नुभएका शुक्लाफाँटा नगरपालिकाका रत्न चौधरी विगत आठ वर्षदेखि रोजगारीका लागि जाने गरेको बताए ।

“खेतीपाती र चाडपर्वका बेला मात्र घर फर्किन्छ,” उनले भने , “अरु समय भारतमा मजदूरी गर्न जानु बाध्यता बनेको छ ।”भारतसँगै युरोप र तेस्रो मुलुक रोजगारी, अध्ययनलगायत कामका लागि जाने प्रदेश नं ७ का स्थानीयवासीको तथ्याङ्कसमेत संकलन गरिएको छ । युरोपलगायत तेस्रो मुलुक यहाँबाट हालसम्म २० हजारको संख्यामा नागरिक गएको तथ्याङ्क छ । चीन, अष्टे«लिया, अमेरिका, बहराइन, क्यानडा, साउदी अरब, कुबेत, दुबईलगायत देशमा प्रदेश नं ७ का बासिन्दा गएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार