fbpx

जुम्लामा डा.केसीको अनसन तोडाउने जिम्मा शिक्षा सचिव बराललाई !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ, ३२ असार । जुम्लामा अनसनरत डा. गोविन्द केसीको अनसन तोडाउने जिम्मा सरकारले शिक्षासचिव खगराज बराललाई दिएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।

यसअघि पनि शिक्षासचिवकै नेतृत्वमा वार्ता समिती गठन गरिएको थियो । तर यसपटक शिक्षासचिवको नेतृत्वमा रहेको वार्ता समितिमा गृह मन्त्रालयका सहसचिवलाई पनि समेटिएको छ । अर्का सदस्यमा स्वास्थ्य मन्त्रालयका सहसचिव रहने भनिएपनि नाम खुलाइएको छैन ।

गृहमन्त्रालयसँग कुनै साइनो सम्बन्ध र माग नरहेका केसीसँग वार्ता गर्न गृहकै सहसचिवलाई टोलीमा समेट्नु डा.केसीलाई जसरी पनि काठमाडौँ ल्याएर अनसन तोडाउने सम्भावना बढेको छ ।

यसअघि सरकारले डा.केसी काठमाडौँ नआएसम्म वार्ता समिति नबनाउने अडान लिएको थियो । तर जुम्ला जस्तो विकट ठाउँमा अनसन बसेका डा.केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि सरकार बाध्य भएर वार्ता समिति बनाउन तयार भएको हो ।

को हुन ? डा.केसीको अनसन तोडाउने जिम्मा पाएका बराल ?

शिक्षामन्त्री गिरिराजमणि पोखरेलका विश्वासिलापात्र शिक्षासचिव बराल कास्की पोखराका हुन । उनी पोखराकै लागि यसअघि जिल्ला शिक्षा अधिकारी र क्षेत्रीय प्रशासक समेत भइसकेका छन ।

वामपन्थी धारकै भएर शिक्षा विभागका महानिर्देशक भएका बराल प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सचिव भएर काम गरेको अनुभव छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका पालमा शिक्षामन्त्री भएका पोखरेलले बराललाई पाठ्यक्रमबाट शिक्षा विभागको नेतृत्वमा ल्याएका थिए ।

त्यसलगत्तै सचिवमा बढुवा भएका बराललाई फेरी मन्त्री भएपछि मन्त्री पोखरेलले शिक्षा मन्त्रालयमा सरुवा गराएर ल्याएका हुन ।

प्रधानमन्त्री ओलीको निर्देशनमा डा.केसीसँग वार्ता गर्न हिच्किचाएका शिक्षा मन्त्री अन्ततः बाध्य भएर वार्ता समिति गठन गर्न तयार भएका छन ।

अब मेडिकल माफियाको स्वार्थमा संसदमा दर्ता भइसकेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न आलँटाल गरेपछि जुम्ला पुगेर अनसन थालेका डा.केसीलाई शिक्षासचिव बरालले कसरी वार्तामार्फत अनसन तोडाउलान ? हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया