fbpx

सर्वोच्चको आदेशले ओली सरकारलाई तनाव !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ, ३२ असार । सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले आज सरकारले निषेधाज्ञा जारी गर्नु कानूनसम्मत नदेखिएको हुँदा अर्को आदेश नभएसम्मलाई सो आदेशलाई निरन्तरता दिएको हो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले यही असार २९ गते अल्पकालीन अन्तरिम आदेशका विषयमा दुवै पक्षलाई छलफलमा बोलाएर आजका लागि सरकारको निषेधाज्ञासम्बन्धी फाइल मगाउने आदेश गरेको थियो ।

सरकारले केही स्थानमा निषेधाज्ञा जारी गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दायर गरेका थिए ।

काठमाडौँ जिल्लाको सुरक्षालाई ध्यानमा राखेर सरकारले शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन, सिंहदरबार, उपराष्ट्रपति निवास र काठमाडौँ महानगरपालिकाका विभिन्न स्थानमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने निर्णय गरेको थियो ।

तर सर्वोच्चले माइतीघर जस्ता ठाउँमा प्रदर्शन गर्न दिनु भनेर सरकारको निर्णयमा अंकुश लगाएपछि ओली सरकारलाई सकस भएको छ । यसअघि भएका निर्णय फिर्ता गर्न अन्कनाएको ओली सरकार माइतीघरमै हुने हप्तैपिच्छे प्रदर्शनले थप आलोचित हुदै गएको छ ।

तपाईको प्रतिक्रिया